Selamat Datang di Portal Sekolah

Pandulipi - "पाण्डुलिपी"


~कृष्ण धराबासी~

मलाई घिन लाग्यो पुरुष भएकोमा
कृष्ण धरावासी


सीताजीलाई माइखोलाको किनारमा सेलाएर आएपछि एकमहिनादेखि छोरीलाई रुँघेर बस्नु भएकी सासूआमा बुधवारे जान तयार हुनु भयो । मैले उहाँलाई रोक्न खोजें– उहाँले अब यो घरको पानी खान्न म भन्दै रुन थाल्नु भो । उहाँले भीम दाइलाई पनि सँगै जाउँ भन्नु भो तर दाइ मान्नु भएन ।
–‘कस्तो परम्परा हाम्रो ? कस्तो मान्यता हाम्रो ! छोरी मरेको दिन देखि माइतीले त्यो घरको अन्नपानी नै ग्रहण गर्नु नहुने रे ?’
मैले रोक्न सकिनँ । आमा खन्च्याङखन्च्याङ एउटा खुट्टो खोच्याउँदै रुँदै बाटो लाग्नु भो । सीताजीले आफ्नो किताबमा उल्लेख गर्नु भएको दुःखको पहाड बोक्न सक्ने यी बुढिया आज फेरि छातीभरि चट्टान बोकेर हिंडिन् । के भनेर सम्झाउनु यिनलाई !
सबै कोठा घुमेर हेरें । सबै पलङहरु खालि थिए । हिजोसम्म सीताजीको एकोहोरो पीडापूर्व आवाज आज थिएन । पलङ फेरिफेरि सुताइन्थ्यो उहाँलाई । अब सबै खाली थिए । घरभरि मानिसै मानिस थिए तर घर सुनसान थियो । छोराहरुलाई हेरें– उदास अनुहार बनाएर सेतो तन्ना, सेतै खोलको सिरक, डसना र सिरानीमा ढल्किएका थिए । उनीहरु अब किरियापुत्री भएका थिए । एकापट्टि कुनामा शारदा र प्रतिमा अनसनमा बसेको आक्रान्त जस्तो सिथिल भएर ढलेका थिए । त्यो दृश्यसँगै मनमा कल्पना आयो– ‘आज म मरेको भए छोराहरु त यसरी नै बसेका हुन्थे तर शारदा सुतेको ठाउँमा सीताजी एकसरो सेतो कपडामा बेरिएर शोकले अजाख पल्टिएकी हुनु हुने थियो । उहाँले रुन बिर्सिएको हुन्थ्यो, होस् आउँदै जाँदै हुन्थ्यो, यो कोठा महान शोकालय हुने थियो । तर त्यो जे भए पनि सुल्टो हुने थियो । स्वास्नीभन्दा लोग्ने अघि मर्नु स्वभाविक मानिन्छ हाम्रो परम्परामा । उमेरमै जेठो हुनाले पनि स्वभाविक हुन्थ्यो । आज म मरेको भए छोराछोरीहरुले आमाको माया पछिसम्मै पाइरहने थिए तर, मैले त यिनीहरुलाई आमाको जस्तो माया के दिन सकुँला र ? मलाई नै चाहिन्छ त्यस्तो माया ! बाबुको माया वास्तवमा माया नै होला त ? बाबुको माया भनेको त कर्तव्यबाट निस्रित भएको कुनै औपचारिकता मात्र हो कि जस्तो लाग्छ मलाई । आमाले दिने मायाका अघि बाबुको बुद्धि पसेको माया कत्तिको सितल बन्न सक्ला र सन्तानलाई ।’
सम्झाउनेहरु प्रायः सबैले भन्थें–
–‘तिमीले अब आमा र बाबु दुबैको भूमिका एक्लै निभाउनु पर्छ । आमाको माया पनि तिमी भित्रै उमार्नु पर्छ ।’
मेरो लागि कत्रो परिक्षा थियो यो ? कसरी सकुँला मैले आफूभित्र ‘सीताजी’ लाई उमार्न ।
छरछिमेकी सबैको प्रमूख केन्द्र बनेको थियो यो घर । सबै भेला भएर तम्बु टाङने, कुर्सी मिलाउने, खाने कुराको प्रबन्ध गर्ने, आदि काममा जुटेका थिए । पुरेत साँझमा आउने गरी विदा हुनुभएको थियो ।
म भने बैठक कोठामा आएर बसें । मेरा वरिपरि साथीभाइहरु बसे । मलाई यो दुःखबाट अल्मल्याउन अनेक प्रकारका सन्दर्भहरुमा चर्चा गर्न थाले । म पनि वार्तामा भाग लिन थालें ।
मैले एउटा भ्याङले हाफपेन्ट र नीलो भेष्ट लगाएको थिएँ । मलाई कसैले पनि केही भनेनन् । मेरा निम्ति कुनै ब्रतहरु छुट्टिएनन् । म सोचिरहेको थिएँ– मलाई पनि केही केही बन्देजहरु हुनेछन् । यो शोकमा छोराहरुसँग म पनि सामेल हुनु पर्नेछ । त्यस त्यसबारेमा खासै केही भएन । सबैजना मसँग टांसिएरै बस्थे, म जताततै स्वतन्त्र हिंडडुल गर्थेँ ।
बेलुका फलफूल आदि खाइयो । भोलि बिहान आठ बजेतिर पुरेत आउनु भयो । मैले उहाँलाई भनेको थिएँ–‘गुरुजी ! आमाको काममा पहिलो दिन नै म ढलेको थाहा होला, केटाहरु पनि त्यति दरा छैनन्, चाँडै आउनु होला ।’
नभन्दै उहाँ समयमै आउनु भयो । छरछिमेकीहरु भेला भए र ढिकुरो उठाउने काम प्रारम्भ भयो । मलाई त्यो दृश्य हेर्न कठिन भयो । बेलाबेला त्यहाँ पुग्दै फर्किदै गर्थँे । शारीरिक रुपले दिपलेश भाइ भन्दा कमजोर थियो । उसलाई उठबस गर्न समस्या थियो, त्यसैले उसको लागि सेतो प्लाष्टिकको कुर्सीको व्यवस्था गरियो । सबै विधि विवेकले गर्न थाल्यो । सम्झें– दिपलेश र म दुबै उस्तै भयौं । हामी दुबै जेठो सन्तान भएर पनि आमाको किरिया विधि गर्न सकेनौं । म पनि ढिकुरो उठाउने दिनु नै वेहोस भएकाले त्यो दिनको सबै काम भाइ (कुमार) ले गरे पछि सबै दिनका विधिहरु उसैले गर्दै गयो, म भने छेउमा बसेर हेरिरहने भएँ । यसपालि दिपलेशले पनि आफ्नो शारीरिक असक्षमताका कारण भाइले गरेको टुलुटुलु हेरिरहनु पर्ने भयो ।
केटाहरुलाई खानका लागि मैले विशेष व्यवस्था गर्न लगाएको थिएँ । पुरेत विष्णुप्रसाद काफ्लेसँग सीताजी बित्नु अघि नै मैले किरियाकर्म कसरी गरिन्छ भन्ने बारे आफ्नो विचार राखिसकेको थिएँ र उहाँले मेरो यो अभियानलाई सहयोग गर्ने वचन दिनु भएको थियो ।
केटाहरुले खाना बनाउँदा ग्यासको प्रयोग गर्ने, ध्यु नखाने, दही दूध र फलफूलसँग खाना खाने । पातको प्रयोग नगर्ने, थालको प्रयोग गर्ने आदि थियो । पहिलो दिन नै त्यो प्रयोग देख्ने केहीले यो हुँदैन, त्यो हुँदैन भन्ने मत राख्न थाले । मैले उहाँहरुसँग बहस गरें । मलाई वास्तवमा यो कर्मकाण्डमाथि केही संसोधन गर्न मन थियो । अर्काको घरमा परेका बेला ठूलाठूला बुद्धि र भौतिकवादको चर्चा गर्ने तर आफ्नोमा पर्दा उग्रतापूर्ण रुढ प्रवृतिमा लाग्ने हाम्रो बौद्धिक समाजका अघि केही गर्न मन थियो । आँखिरी सीताजी बितिहाल्नु भयो– यो दशगोत्र कर्मले उहाँको दिवंगत आत्मासँग कुनै सरोकार राख्ने पनि होइन, यस संस्कारलाई सजिलो कसरी पार्न सकिएला भन्ने लागेकै थियो । कुनै पनि कुराको थालनी गर्नु छ भने आफ्नै घरभित्रबाट थाल्नुपर्ने हुनाले मैले त्यो निर्णय गरेको थिएँ ।
सामान्य आलोचना र परिचर्चाको प्रारम्भ पहिलो दिनबाटै शुरु भइसकेको थियो ।
खानेबेलामा मलाई भने दिदी, बहिनीहरुले पकाएकै भान्सामा व्यवस्था गरियो । मैले भरे पुरेतलाई सोधें–
– ‘गुरुजी ! सीताजी बित्नु भएको छ, खै मेरो लागि त कुनै पनि काम छुट्टिए जस्तो लागेन त ? मैले केही गर्नु पर्दैन ?’
उहाँले भन्नु भो–
– ‘खै तपाईको लागि अलग्गै केही गर्नु पर्ने शास्त्रमा छुटिएको छैन । मातापिताको किरियाकर्म छोराले गर्ने हो । तपाईले नुनसम्म बारे हुन्छ ।’
म छक्क परेको थिएँ । मलाई यो कर्मकाण्डले अलग्गै केही काम दिएन भन्नु भन्दा पनि यो कस्तो विधि हो जसमा लोग्ने मर्दा उहिले स्वास्नीले जिउँदै सती जानु प¥थ्यो, लोग्नेसँग चितामा जल्नु प¥थ्यो । अझै पनि लोग्ने मर्दा छोराहरुसँग कोरामा बसेर शोकमय हुनु पर्छ, एकसरो सेतो धरो बेरेर बस्नु पर्छ । त्यसपछि पनि वर्षदिनसम्म बार्नु पर्छ तर स्वास्नी मर्दा भने लोग्नेका लागि केही पनि दायित्व छुट्याइएको छैन ।
मैले विषणुकुमार भट्टराई दाइसँग यो गुनाशो पोखें–
–‘दाइ ! यो कस्तो विधि हो ? कति अव्यावहारिक, कति पक्षपाति । जसलाई थरगोत्र समेत फेरेर आफ्नो कुलधर्ममा समाहित गराइएको हुन्छ, ऊ मर्दा भने लोग्नेको कुनै भूमिका नहुनु अचम्म होइन ? यस्तो एकलकाटे पनि शास्त्र हुन्छ त ? कसको कसको कुलमा जन्मेकी नारीलाई आफ्नो घरमा ल्याएर आफ्नो बनाइएकीलाई जीवनमा सुख दिन सकिन्छ, सकिन्न, मरे पछि समेत उसका निम्ति आफूले केही गर्नु नपर्ने ?’
– ‘त्यति मात्र कहाँ भाइ ! अझ शास्त्रमा त स्वास्नी मरेमा स्वास्नीको लाश उठाइ सके पछि लोग्नेले त्यसै दिन अर्की स्वास्नी भित्र्याउनु समेत हुन्छ पनि भनिएको पो छ त ।’
म टवाल्ल परें । म भित्र शब्दहरु नै हराए ।
कस्तो परम्परा र संस्कृतिमा टेकेर उभिएका रहेछौं हामी ? कति घिन लाग्दो सोच ?
त्यो आमा जसले आफ्नो सम्पूर्ण मन, शरीर, इच्छा, रहर र उमेर विनासर्त समपर्ण गरेकी हुन्छे त्यसको मूल्य कति त ? त्यो लोग्नेले उसका निम्ति कुनै भार बोक्नै नपर्ने ?
कुनै कालमा पुरुषले बनाएको यो शास्त्रमा यति हदसम्म लाजमर्दाे सुविधा आफ्नो लागि सुरक्षित गर्नु हुन्छ ? मलाई घिन लाग्यो आफू पुरुष भएकोमा । मनमा आयो– यदि साँच्चै मरेको शरीरको आत्माले देख्दो हो भने सीताजीलाई कस्तो लाग्दो हो ? के खुशी लाग्दो हो ? के उहाँले आशीर्वाद दिनु हुँदो हो ?
लोग्नेका नजरमा नारीलाई यति हदसम्म मूल्यहीन बनाइएको छ हाम्रा कर्मकाण्डहरुमा भन्ने मलाई थाह थिएन । हुन त स्वास्नी मरौ परेको घरमा गइएकै हो तर यसप्रकारले विचार गरिएको रहेनछ । यस्तो कर्मकाण्ड पद्धतिलाई हामीले अक्षरशः जोगाइरहनुको के औचित्य भन्ने कुराले म भित्र झन् जरा गाड्न थाल्यो ।
(धरावासीको प्रकाशोन्मुख कृति पाण्डुलिपिको अंश)आजबाट हामी कृष्ण धराबासी को उपन्यास आधा बाटो लिएर आएका छौ | )
(Source) 

ल सुनम न त

Listen and Download Pandulipi.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger