तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ–आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, पिप्ला आदिको प्रयोग गरी न्वारान गर्दछन् । बौद्धको आफ्नै संस्कृति, क्रिश्चियन र शिखको आ–आफ्नै । कसैले जाँडरक्सी चढाएर, खुवाएर त कसैले देवी देवता भाकेर, पण्डित राखेर, नराखेर, लामा राखेर विभिन्न तरिकाले न्वारान गर्दछन् ।
मान्छेको न्वारान पनि पटक पटक हुँदो रहेछ । जन्मेपछि पण्डित बाजेले एउटा नाम राखी दिए । बाले बोलाउने बेग्लै नाम, आमाले बोलाउने बेग्लै नाम । हजुरबा हजुरमाले बेग्लै नामले बोलाउने, अंकल आन्टी, टोलछिमेककाले बेग्लै नाम राखी दिने । अलि मोटो भयो भने धोक्रे, मोटे, कोदे, दुब्लो भए फिस्टे, सुकुटे, च्याँसे, मरन्च्याँसे, रुन्चे अनेक नाम रहने । बाबुलाई रीस उठ्यो भने जनावरको नाममा बोलाउने, गधा, कुकुर, साँढे इत्यादि । आमाले पुल्पुल्याएर बोलाउनु पर्दा बाबु, कान्छु, फुच्चु इत्यादि । अंकल नाम राखिदिन्छन् माइकल, अन्टिले राख्ने नाम रोमियो । अंकलको नाम सुन्नेले भन्छ, माइकल कहिले चढ्ने साइकल ? अन्टिको नाम सुन्नेले भन्छ रोमियो खान हिँड् पोलियो । आपूm परियो सानैदेखि लुरे, पोलियो त पटकैपिच्छे खाएको खै हातगोडा सिन्का जस्ता, जस्ताको तस्तै ।
गाउँमा राम नाम हुनेलाई सबैले भन्छन् रामे, श्यामलाई श्यामे, हरिलाई हरे, सीतालाई सीते, गीतालाई गीते, रोजिनालाई रोजिने, पार्वतीलाई पारे, सोमबहादुरलाई सोमे, होमबहादुरलाई होमे । त्यसैले सानामा पण्डितले मात्र न्वारान गरेर नपुग्ने, बाबा आमा, अंकल अन्टी र हजुरबा हजुरमाले मात्र न्वारान गरेर नपुग्ने भएपछि समाजले नै न्वारान गरिदिंदो रहेछ । स्कूल भर्ना भएपछि त्यहाँ गुरुले बोलाउने नाम बेग्लै, साथीहरुले बोलाउने नाम बेग्लै । त्यसो त हेडसरले चश्मा लाएर बोलाउने एउटा नाम, चश्मा भुल्दा बोलाउने अर्कै ।
के के न लछार्छु भन्दै यस्तो देशाँ जन्मिनुभन्दा त तुहिएको भए बेश भन्ने हाम्रा गाउँको काइँला दाई विदेश गएका मात्रै थिए, देशको मायाँले लडिबुडी नै गर्न थालेछन् । देशको साह्रै याद आउँछ रे काइँली भाउजुको भन्दा पनि बढी । सत्तामा हुनेले किन राजनीति गर्न नजान्या रे ? पो भन्छन्, यिनी । यिनै त हुन् नि संविधान सभाको चुनाउमा भोट हाल्न नजानी बदर गराउने । विदेशमा उनको पनि संंगठन छ रेस लभ इन नेपाल एशोशियन । यो सबैभन्दा कान्छो संगठन रे त्यहाँको । हाम्रा देशका त छिनमै संगठनका विर्यदान हुन्छन्, चाहे गर्भासयमा, चाहे टेस्ट्युब, चाहे पिपल चौतारीमा, चाहे चिया खाँदा वा बदाम खाँदा जतिखेर मनलाग्यो त्यतिखेर संगठन जन्मन्छन्, छिनमै तुहिन्छन्, छिनमै हुर्कन्छन् । यहाँ त मानिसका मात्र हैन संगठनका पनि न्वारान हुन्छन् । राजनैतिक पार्टि आज मूल पार्टि हुन्छ, भोली बिहान उठ्दा पञ्चमुलमा भएको पार्टि शंखमुलमा सर्छ । पार्टिको झण्डा हुन्छ पाँच टुक्रा अनि बन्छ धोती जस्तो टालो, त्यहि टालोमा हुन्छ पन्ध्र दिन खिचलो । बल्लबल्ल निर्वाचन आयोगले चिन्ह र झण्डा निर्धारण गराएपछि फेरि पाँच संगठनको लडाँई पर्छ अनि हुन्छ पाँच तीयाँ पन्ध्र संगठन । पन्ध्र संगठनको साँढे सोह्र उप–संगठन । पन्ध्रको त पन्ध्र भैगयो, आधा रहनेले एउटा फुटकर संगठनको उपाध्यक्ष, अर्को फुटकर संगठनको सचिव, अर्कोको सल्लाहकार, अर्कोको सभापति । त्यहाँ पनि पार्टिको र पदाधिकारीको न्वारान राख्ने काम हुन्छ ।
सरकारमा पुग्यो, तथानाम गाली शुरु हुन्छ । एउटै पार्टिका तीन खेमा । एउटा जग्गा कब्जा गर्ने सामन्तीको राजा कहलिन्छ, अर्को हुन्छ तानाशाह, अर्को हुन्छ जनमारा । गरी खानेको लुट्नेको नाम हुन्छ ढिंडे । आफ्नो ढिपीं नछोड्नेको नाम रहन्छ लिंडे । राता पिरा भएर जनता उचाल्नेको नाम हुन्छ गोलभेंडे, पेलेरै जान्छु भन्नेको नाम रहन्छ साँढे । न कसैको इज्जत रहन्छ, नकसैको हुर्मत । हिजो हाम्रो मान्छे राम्रो मान्छे भन्नेले आज गाली गर्छ, निमक हराम, पार्टि र नीतिको विरोधी, षडयन्त्रकारी, भड्कालोकारी लोकतन्त्रको ढाड भाँच्ने चण्डाल इत्यादि ।
सबैको राजनितिज्ञको न्वारान भई सकेपछि जनताले राजनीतिज्ञको न्वारान गर्ने पालो आउँछ । बेशीका माइली काकी उफ्रिन्छिन् “सुन्यौ तिम्रा नेतालाई त षडयन्त्रकारी भन्यो नि ।” टायल घरे सानिमा उफ्रिन्छिन्, “तिम्रा नेतालाई पनि त भड्खालोकारी भनेनी ।” अब लोसे अप्ठ्यारे काका भन्छन्, “तिम्रा नेता त निमक हराम, चोरको बाउ चण्डाल ।” झाँक्री काका भन्छन्, “चाइनेजो तिम्रा नेतृ त चण्डालको हजुरआमा ।” आ–आफ्ना फर्माइसका नामबाट न्वारान भएपछि गाउँलेहरुको न्वारान गर्ने पालो आउँछ । एउटाले भन्छन्, भुसतिघ्रे, अर्कोले भन्छ टिबीको आहारा, अर्की कराउँछिन् सोड्के काजी, अर्की उफ्रन्छिन् भन्दै कोदे पाजी । अब देशै न्वारानमय बन्छ ।
खाडी मुलुक गएको काइँलो फोनमा भन्दै थियो, नेपालकी माइली उता म्याडोना हुन्छे रे, बिजुलीमायाँ ब्रिट्नी, स्याङ्ताननी कान्छी साकिरा, मुसे काकाकी नातिनी उता माइली साइरस । जस्ताघरे पण्डितका छोरा बिर्खे त्यहाँ पुगेपछि बुश, यहाँका ओमबहादुर त्यहाँ ओबामा, काइँली दिदी कोण्डालिजा, माथ्लोघरका लुतेखोरे काका त्यहाँ पुग्दा लर्डखोर्ड अंकल । हाम्रामा चै फ्रान्सेली आए अमेरिकी, अफ्रिकी आए बिहारी भन्ने चलन छ । सेता आए अम्रिकाने, काला आए बिहारी भनी न्वारान गर्न हामी खुबै सिपालु छौं । आज हामीलाई विदेशीको न्वारान गर्ने फुर्सद छैन, काठमाण्डौं बसी मधेसको आन्दोलन गरेका भन्नेदेखि चार चार आना भएनि संघिय हुनुपर्छ भन्नेहरु संसदभित्र कोकोहोलो गर्दैछन्, सबै आ–आफ्ना न्वारान गर्दैछन् । डाक्टर प्रधानमन्त्रीदेखि प्रचण्ड, बादलदेखि धुवाँ, किरणदेखि अँध्यारो, पम्फादेखि चम्पा, नेपालदेखि लेपाल, वलीदेखि गोली, कोइरालादेखि सोइसाला सबैको न्वारान हुँदैछन् । छेकिएर हिँड्नोस्, लुकेर हिँड्नोस्, जहाँ जस्को पनि न्वारान भएको हुन्छ । यति पढ्दा पढ्दै तपाईले पनि मेरो न्वारान गरिसक्नु भो होला । अरुले के के नाम राखेर न्वारान गरे त थाहा भएन, मलाई मेरै न्वारानको नाम कण्ठ गर्न धौधौ छ, नाम के भनेनी, तिलकमाधवरत्नहिराप्रसादपुष्पनाथदिलकान्तइन्द्रजीतकिरणकृण्णबाबुरामबंशद्वीपशुशिलबाबुनारायण शर्मा अधिकारी । हामी आफ्नो त याद गर्न नसक्दा हामी दुनियाँका न्वारानका नाम पुकारेर व्यर्थका गन्थन गर्दैछौं । संविधान सभाको मात्रै पटकपटक न्वारान र ब्रतबन्ध भएको छ । भर्खरै मात्र एघारौं पटक न्वारान भएको अन्तरिम संविधानको जुंगा आउने बेला भई सक्यो । थाहा छैन अझै कति न्वारान हुने हो । न्वारान हुँदा हुँदै मलामी जानु त परोइन ?
अस्तु ।
(हेटौंडा)
(स्रोत : Khasskhass.com )
Post a Comment