पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिसअनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।
मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्दैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटा ईश्वर हो, जसलाई मान्छे पछयाउँदै जान्छ, ऊचाहिँ परपर तर्कंदै जान्छ तर ऊ जतिसुकै पन्छिए पनि मानिस भोलिको भक्त छ । उसको मुखमा ‘राम राम’ झैँ सधैँ झुन्डिरहेको हुन्छ- भोलि । त्यसैले आजको काम भोलिलाई थाती राख्नु हाम्रो संस्कृति हो । आफ्नो संस्कृतिलाई उल्लङ्घन गर्न कसले सक्छ ?
साँच्ची भनूँ भने पूर्वीय दर्शनको सबभन्दा ठूलो विशेषता हो- भोलिवाद । हाम्रो दर्शन आज (बाचुन्जेल) दु:ख गर, भोलि (मरेपछि) मुक्ति पादँछौ भन्छ । तर दर्शनको भनाइ र मानिसको गराइमा कहाँनेर फरक पर्छ भने दर्शन भोलिका निम्ति आज गर भन्छ, मानिस डेढ अक्कल लगाइदिन्छ- भोलिको निम्ति गर्ने भएपछि आज किन गरिरहनु। भोलि नै गरे भैहाल्छ नि । अनि निस्कन्छ- आधुनिक भोलिवाद, जसका अनुयायी तपाईं-हामी सबै छौँ ।
भोलिवादको श्रीगणेश कुन बेला, कसको पालादेखि कसले सुरु गर्यो, त्यो किट्न सकिन्न, तर हेरिल्याउँदा नेपाली समाजमा भानुभक्तभन्दा अघिदेखि नै यसले खुट्टो घुमाएको बुझिन्छ । उनले एकपटक साह्रै दिक्दारिएर भनेका थिए- “भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।” कसो हामी भाग्यमानी रहेछौँ र हाम्रा आदिकविलाई झोली बोकेर वनतिर पस्नु परेनछ । उनको यो घुर्कीबाट हामी बुझ्न सक्छौँ- भोलिवाद सिद्धान्तका प्रणेता कुनै महार्षि या आचार्य थिएनन् । यो त निसापको ठूलो घरमा बसेर बेहिसाप गर्न खोज्ने उहिलेका जरसाहेब, काजीसाहेब, हजुरियासाहेब यस्तै कुनै फर्सीटाउकेसाहेब-साहेबनीहरु हुँदाहुन्; हुन सक्छ, सरस्वतीको तानाबाना बोकेर दक्षिणा फर्काउँदै दुनियाँ छकाउने गुरुजी, पण्डितजी, वैध्यजी इत्यादि ‘जी’ हरुमध्ये कुनै थिए कि ?
हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे । लाग्नासाथ घरभेटीले थरीलाई पुकारेछ । थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछन्- “भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला ।” भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचैकीमा पुगेछन् । तर चैकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन् । घरतिर सिपाहीले सोही बेहोरा बताई भोलि आउने आज्ञा दियो । भोलिपल्ट चैकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो । ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो कि फलाना ठाउँमा आगो लाग्यो । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूले “लौ भोलि सम्झाउनू” भन्ने हुकुम दिए । भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो- “सरकार फलाना ठाउँमा आगोले सिद्धयाएछ ।” काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- “लौ भोलि नै निभाउन लगाइदिनू ।”
हिजोआजजस्तो टेलिफोनको व्यवस्था त्यतिखेर पनि भएको भए त्यस्तो हुँदैनथ्यो कि भन्नुहोला, तर मानिसलाई भोलिवादले छोएपछि टेलिफोनका बाबुको पनि केही लाग्दो रहेनछ । अस्ति मात्रको एउटा कुरा सुन्नोस्, मेरी एउटी नातेदार महिलाज्यूलाई प्रजा बढाउने व्याथाले अँठयाएछ । तपाईंलाई थाहा होला नि, अघिअघिका जस्ता हिँड्दाहिँड्दै ब्याउने दह्रा आइमाई कहाँ छन् र अचेल ! पाउने दुई महिनाअघिदेखि भुँडी छाम्दै डाँको छोड्दै कन्न थाल्छन् ! त्यसमाथि पनि यनि त थिइन् पहिला बेते । त्यसैले, अस्पताल नपुर्याई त कुरै थिएन । हत्त न पत्त छिमेकीको टेलिफोनमा गएर हलो हलो गरेको त कोहीबाट रिसिभरको तार मात्र तन्द्रङतुन्द्रुङ हल्लियो, कतैबाट कोही बोलेन ! फोनधनीले भने- “लाइन बिग्रेको तीन दिन भयो, भोलि भन्दाभन्दै बनिसकेको छैन, कृपया भोलि एक पटक पाल्नुहोस् न ।” लौ लौ भन्दै कुदेँ अस्पतालतिर ।
अस्पतालमा एउटी युवती नर्सले सबै बोलीबिस्तार सुनिन् र मधुर मुस्कानसाथ भनिन्- “आज सिट पनि खाली छैन, सुपरिटेन्डेन्टसाहेब साहेब बाहिर जानुभा’ छ, कृपया भोलि पाल्नुहोस् न, अम्बुलेन्स कारको ब्रेक पनि भोलि बनिसक्छ ।” हुन्न भनेर पो के गर्नु र ? भला भोलिको तारिख दिए पनि छिमेकीको टेलिफोन मात्रै बनेको भए पनि ‘हलो हलो’ भनेर कनिरहेकी महिलाज्यूलाई कृपया भोलिसम्म पर्खनोस् है भन्दो हुँ तर त्यो पनि थिएन ! लुत्रे कान लगाएर दुई-तीन घण्टापछि उनकहाँ पुगेँ, तै बिचारीले अटोमेटिक मेथडबाटै काम सिद्धयाइछन् र मात्र, नत्र… ।
अब तपाईं नै भन्नोस्, भोलिवाद हटाउन टेलिफोनका बाबुको तागत चल्दो रहेछ त ! काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरु बढ्दै छन् । न्युयोर्कमा बोलेको कुरा न्युरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौँमा टेलिप्रिन्ट हुने भयो, तर भोलिवादमा कुनै प्रवाभ परेको देखिदैँन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई ‘भोलिदरबार’ भन्ने नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक-एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाईं छाड्नुहुन्न । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबार होस् कि स्यालदरबार होस् भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।
सरकारी क्षेत्रको मात्रै हो र, असरकारी क्षेत्रको पनि गति उहि हो । भोलि दिउँला भनी पैँचो लगेको पैसाले ५०० भोलि बिताइदिन्छ । पसलेहरु ‘आज नगद भोलि उधारो’ भनिरहून्, उधारो नदिई उनीहरुले सुखै पाउँदैनन् । ग्राहकलाई उधारो तिर्नेचाहिँ भोलि आउँदैआउँदैन । कुनै मालिकले नोकरलाई ५०।– रुपियाँ तलबका निम्ति ५० भोलि कुदाउँछन् । कुनै हितैषीले तीन मिनेटको कुरालाई तीन बर्षसम्म भोलिभोलि भनी गन्हाउने चोक कुराउँछन् । ऋण लिन जाँदा साहू भन्छ- भोलि, लेख लिन जादाँ लेखक भन्छ- भोलि, तारिख लिन जादाँ बाहिदार भन्छ- भोलि, तलब लिन जादाँ तहबिलदार भन्छ- भोलि। लुगा सिइसकियो ? भन्दा सूचीकार भन्छ- भोलि, चोक बढारिदे भन्दा कूचीकार भन्छ- भोलि । हुँदाहुँदा लोग्नेस्वास्नीमा पनि भोलिवादी भएकाले एकअर्कालाई पर्खाउने बानी बसिसकेको छ अचेल । लोग्नेले टोपी धोइदेऊ न भन्यो भने स्वास्नी भोलि धोइदिउँला भन्दाभन्दै सात दिन बिताइदिन्छे । स्वास्नीले नुन खाँचै छ भनी भने भोलि ल्याइदिउँला भन्दाभन्दै लोग्नेले पर्खाइदिन्छ छ-सात दिन ।
वातावरणै सबै भोलिवादी भएपछि मान्छेको मनोवृत्ति ससाना कुरामा पनि भोलिवाद नभई छाड्दो रहेनछ । इमानजमान नछाडीकन भनिदिऊँ भने भोलिभोलि भनेर मानिसले अरुलाई मात्र होइन, आफूलाई पनि झुलाइरहेको हुन्छ । अर्को शब्दमा भोलिको घोचो लिएर मान्छेले समाजलाई मात्र होइन, आफूलाई समेत निष्क्रियतातिर घचेटिरहेको हुन्छ । पढ्नु थियो- भोलि पढुँला, जानु थियो- भोलि जाउँला, गर्नु थियो- भोलि गरुँला – भन्दाभन्दै कहिलेकाहीँ राति दिसा लाग्यो भने पनि निस्कनाको गाह्राले भोलि गरौँला भनी सुतिदिन्छन् कैयौँ ठिटाठिटीहरू । भोलिवादको अपवाद के छ भने खानलाई चाहिँ मान्छे सकेसम्म भोलिको भाका राख्तैन । भोलि दु:ख परे ‘रात रहे अग्राख पलाउँछ’ भन्दै भएभरको आजै बुत्याउन परे पनि ऊ तम्सन्छ । उदाहरणको निम्ति एउटा छोटो कुरा सुनाइहालूँ ।
एक पटक काठमाडौँको ठूलो होटेलमा बफे डिनर थियो । त्यहाँ कहिल्यै कतै नहिड्ने एक जना जरसाहेब पनि आएका रहेछन् । उनले खाएपिएको देख्ता म छक्कै परेँ, झन्डै आधा दर्जन पाहुनालाई पुग्ने भाग उनी एकै जनाले बुत्याइदिए । आखिरी पटक खसखस थाम्न नसकेर मैले सोधेँ- “होइन, जरसाहेबलाई आराम नहोला नि ।” उनले सजिलैसित भने- “आराम नभए भोलि औषधि खाउँला ।” उनको यस भनाइबाट यही निष्कर्ष निस्कन्छ- मान्छे सबै कुरामा भोलिवादको अनुसरण गरे पनि खान भने भोलिलाई पर्खंदैन, यो उसको ठूलो गुन हो ।
यसबाहेक अरु सबै क्रियाकलापहरु हाम्रा भोलिवादी छन् । भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो । तैपनि मेरो थोत्रो मगज यही शङ्कामा सधैँ जेलिइरहन्छ । हरेक कामकुरोमा भोलि भन्दाभन्दै भानुभक्तले भनेझैँ पर्सि हामी सबैले झोली बोकेर ‘बम् भोलानाथकी जय’ भन्दै डाँडैडाँडा कुद्न त परोइन ? के बेर ! आज गरे हुने कामलाई भोलि पर्खेपछि त्यही हिसाबले यसपालिका सारा काम आघौँलाई पन्छन के बेर ? यस दशकका काम अर्को दशकलाई थन्कन के बेर ? अनी बीसौँ शताब्दीका सम्पूर्ण जिम्मेदारी र कर्तव्यहरु एकाइसौँ शताब्दीका लागि डिपोजिट रहन के बेर ? यसो हुँदाहुँदै कता पृथ्वी भोलि घुमौँला भनेर आराम नगरिदेओस्, हावा भोलि डुलौँला भनेर विश्राम नगरिदेओस्, जय भोलि !
(श्रोत: काउकुती)
Post a Comment