असन
चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् ।
बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन
पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के
थाहा यो माछाको बारेमा ? यसको बारेमा मलाई यही ठाउँमा ल्याएर म बच्चा बेला
मेरो हजूरबुबाले भन्नुभएको थियो । त्यस्तै मेरो हजूरबुबालाई पनि बच्चा
बेला यही ठाउँमा ल्याएर उहाँको हजुरबुबाले उहाँलाई बच्चाबेला यही माछाको
बारेमा भन्नुभएको थियो । त्यत्तिबेलादेखि पुस्तौं पुस्ता हस्तान्तरण हुँदै
मसम्म यो माछाको बारे इतिहास जिउँदै छ ।
त्यसैले तिमीहरू पनि यही ठाउँमानै यो इतिहासबारे सुन ।”
धेरै
पहिले काठमाण्डौं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषि
हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो
जन्म्यो । आफ्नो छोरो जन्मेको मिति, तिथि अनुसार उसले ज्योतिषि हेर्दा
आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि
के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरूलाई अह्राएर
खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो
गाउँमा लगेर हुर्काउँछ ।
राजज्योतिषको
ज्योतिषि विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्ष
वितिसकेको हुन्छ । एकदिन काठमाण्डौं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर
हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले
ल्याएको रहेछ त्यो काठमाण्डौं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले
ज्योतिषि हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट
जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह, नक्षत्र सबै हेरेर राजालाई
भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा
क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिवारको दिन बिहान
उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।
उता
दाउरेले हुर्काएका बीसवर्षो जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगत गुणको
प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषिमा रुचि राखी लागिपरेकाले
गर्दा २० वर्षो उमेरसम्ममा ज्योतिषिको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ ।
त्यत्तिबेला ऊ पनि काठमाण्डौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले
अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो
ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च
गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्रभाग भए हुने भनेर
अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २
हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ
भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको
अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाण्डौ
उपत्यकाभरि हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ ।
उक्त २० वर्षो जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।
राज ज्योतिष :- मैले अहिलेसम्म ज्योतिष हेरिसकेँ त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक :- अब मिथ्या हुनेवाला छ ।
राज ज्योतिष :- यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ, के यो तिमी मञ्जूर गर्छौ ?
जवान युवक :- गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई
आफ्नो ज्योतिषिमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरवारमा यही
प्रक्रियाको लागि तत्कालै कानूनी प्रकृया मिलाउन लगाउँछ ।
जवान
युवक :- हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ
किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।
राजज्योतिष :- म अरु कुरा सुन्न चाहन्न, तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।
शनिवारको
दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान
युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा
खस्छ ।
राजज्योतिषलाई
फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले
राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको
सम्पूर्ण कागजातहरू अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली
फेला पार्छ । त्यसबाट ज्योतिषि हेर्दा पुरानो राजज्योतिष जवान
राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको
टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।
नोट
:- मेरो उद्देश्य इतिहासलाई वङ्ग्याउनु होइन । इतिहासका कुराहरू हामीले
बच्चैबेलादेखि सुनिआएका कुरालाई जस्ताको तस्तै राखेर संरक्षण गर्ने एउटा
सानो प्रयास मात्र गरेको हुँ । केही भएर भूलचूक हुन गएको छ भने यस सम्बन्धि
जानिफकारहरूद्वारा यसबारेमा सल्लाह सुझावको अपेक्षा गरेको छु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौ
bijusubedi@hotmail.com
कुलेश्वर काठमाण्डौ
bijusubedi@hotmail.com
(स्रोत : Blog)
Post a Comment