Selamat Datang di Portal Sekolah

महाभारत युद्धपछिका व्यास

मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी बनायो कि ? मेरा औरस पुत्र धृतराष्ट्रको दुखले दुखी बनायो ? धृतराष्ट्रप्रति मलाई पुत्रमोह त कहिल्यै थिएन किनभने मैले माता सत्यवतीको वचनलाई हार्न नसकेर मात्र उनका विधवा बुहारीहरूलाई गर्भवती गराएर पुत्र प्रदान गरेको थिएँ । तर, त्यो बेलामा मैले मातालाई भनेको पनि थिएँ-“माता, मबाट जन्मिँमा यी सन्तानहरू ऋषिपुत्र झैं हुने छैनन् । भविष्यको कुरा केही भन्न सकिन्न । हुन सक्छ यी सन्तान नै हस्तिनापुरको रक्षा समर्थ नहोलान् ।” मैले उनका बुहारीहरूलाई पुत्र दान त गरेँ तर विना कुनै मोह । म वनमा फर्किएको केही समयपछि थाहा भयो मबाट जम्निएका दुइ पुत्रमध्ये एक अन्धा र अर्को रोगी छन् । मलाई झुक्याउन एक दासीलाई पठाइएको थियो, ती चाहिँ सबैभन्दा असल र स्वस्थ पैदा भए – विदुर ।
तर, के मैले पुत्र दान गरेर पनि हस्तिनापुरको रक्षा भयो त ? आज तिनै पुत्रका सन्तानहरू आपसमा युद्ध गरेर निर्दोष मानिसहरूको रगतले यो भूमि भिजाइरहेका छन् । तर, यो युद्धको बिउ त धेरै अगाडि नै रोपिइसकेको थिएन र ? मलाई त्यो दृष्य अझैं पनि याद छ ।
पाण्डवहरूको मृत्युको खबर सुनेर मलाई विश्वास नलागेर धृतराष्ट्रकहाँ पुगेका थिएँ । धृतरष्ट्र चित्कार गरेर रोइरहेका थिए । यस्तो लाग्थ्यो – मानौं, उनी अहिले नै टाउको फार्नेछन् । मैले भनेको थिएँ – शान्त होऊ सम्राट्, सायद विधिको विधान नै यही थियो । यदि ईश्वरले चाहेको भए त उनीहरू बाँचिहाल्थे । “हे ईश्वर ! किन मृत्यु दियौ मेरा छोरालाई ?” धृतराष्ट्र बारम्बार भनिरहेका थिए र त्यहीँ दुर्योधन पनि आँसु पुछिरहेका थिए । विदुर एकातिर उभिरहेका थिए । मलाई विदुरको सहज स्थिति देखेर अचम्म लागेको थियो । धेरे बेरपछि मैले एकान्तमा विदुरलाई सोधेँ -“पुत्र विदुर, के साँच्चि नै पाण्डवहरूको मृत्यु भयो ? हेर धृतराष्ट्र कस्तो दुःखी भएको ?” विदुरले केही भन्न खोजेझैं गरेर पुनः चूप लागेका थिए । केही लुकाउन खोजेझैं विदुर । मैले भनेँ -“तिमी रहश्य लुकाइरहेछौ ।” विदुर मुस्किएर भने “ऋषिवर, तपाइँलाई के पो थाहा छैन र मैले रहस्य लुकाउनु ? यति थाहा पाउनुुस् कि पाण्डवहरू जीवित छन् ।” म हर्षित भएको थिएँ मैले भनेँ -“तर तिमीले धृतराष्ट्रलाई र दुर्योधनलाई किन लुकाएको यो कुरा ? उनीहरू त पाण्डवका वन्धु हुन् । उनीहरूलाई थाहा हुनुपर्दैन ?” विदुरले केही मुस्किएर भनेका थिए-“ऋषिवर सायद यहाँलाई थाहा छैन होला आफ्नै वान्धवले पाण्डवका शत्रु भएर मार्ने षडयन्त्र रचेका हुन् । यदि मैले अहिले नै यो रहस्य खोलेँ भने फेरि षडयन्त्र गर्नेछन्, म उनीहरूलाई पाण्डव मार्ने षडयन्त्र गर्न दिन्नँ । समय आएपछि उनीहरूले पाण्डव जीवित छन् भन्ने थाहा पाइहाल्नेछन् ।” आफ्नै दाजुभाइलाई मागर्न खोज्ने व्यक्तिहरू दरवारमै रहेछन् । विदुरले भन्दै जाँदा मलाई अचम्मभन्दा पनि बढी दुःख लागेको थियो । तर, म गर्न नै के सक्थेँ र विदुरलाई ? मलाई हस्तिनापुरको खबर पठाउँदै गर्नु भनेर वन फर्केँ । समय बित्दै गयो केही समयपछि पाण्डवहरू पुनः फर्केर आए भन्ने खबर सुनेँ । भेट्न जान मन लागेको त थियो व्यस्त भएर जान सकिनँ ।
विदुरले बारम्वार समाचार पठाइरहन्थे । दरबारमा युधिष्ठिरलाई युवराज घोषित गरिएको खबरले चाहिँ यो वनमा बस्ने ऋषिको मन पनि प्रसन्न गरायो र म केही समयपछि दरबारमा गएँ । विदुरले मलाई स्वागत गरे । उनैको घरमा बसेको थिएँ । विदुले दुर्योधन र युधिष्ठिरको स्वभावको बारेमा, जनता उनीहरूको प्रेमको बारेमा भनेका थिए । केही दिनअघि नै शहरमा एउटा दर्घटना भएछ । एक ठाउँमा सोमरस पिएर बसेका केही व्यक्तिहरूले झगडा गर्न थालेपछि झगडाले उग्र रूप लियो । त्यसमा मारपिट पनि मच्चियो । धनको लुटपाट पनि भयो । यो कुरा दरबारसम्म पुगेपछि युवराज युधिष्ठिर आफैं कुरा बुझ्न गए । त्यहाँ पुगेपछि थाहा भयो कि दरबारका केही सैनिकहरू नै त्यसमा संलग्न रहेछन् । उनीहरूले रक्सी खाएर मारपिट गरे र लुटपाट गरे । त्यस्ता व्यक्तिहरूलाई दण्ड दिनुपर्ने कुरा युधिष्ठिरले सम्राट् धृतराष्ट्रलाई भने तर, दुर्योधनले विरोध गरे । सैनिकहरूलाई सजाय दिँदा उनीहरूको मनोबल गिर्ने कुरा दुर्योधनले भने । युधिष्ठिरले भनेका थिए-“भाइ दुयोृधन, यदि त्यस्तो कु-कर्म गर्ने सैनिकलाई दण्ड नदिए, जनताको राजा, दरबार र राज्य व्यवस्थप्रति विश्वास घट्नेछ । अनि जनताको मनोबल गिर्नेछ र राज्यको पतनको शुरूवात हुनेछ । कुनै पनि व्यक्तिलाई चाहे सैनिकलाई होस् वा गैरसैनिकलाई दरबारभित्रको काम गर्ने होस् वा बाहिरको । यदि उसको अपराधअनुसारको सजाय दिइएन भने उसको कुकर्मले झन् बल पाउनेछ । दण्डहीनताको अवस्थाले देशमा अनुशासनहीनता खडा गर्छ । अनि बिस्तारे धमिराले खाए झैं हस्तिनापुरको प्रशासन कमजोर हुँदै जानेछ । वरिपरिका राज्यहरूले आक्रमण गर्नेछन् । यस्तो अवस्था आउन दिनु ठीक होला र ?”
युधिष्ठिरको कुरा सुनेर दुर्योधन ठूलो स्वरले कराएका थिए-“चूप लाग युधिष्ठिर कसैलाई दण्ड दिने वा नदिने अधिकार राजासँग मात्र हुन्छ ।” “हो, दुर्योधन । तर म युवराज भएको नाताले देशको उन्नतिको लागि राजालाई सल्लाह त दिन सक्छु नि फेरि म जे भनिरहेछु, सबै आफैं गएर कुरा बुझेर आएर, अपराधीलाई दण्ड दिने कुरा मात्र भनिरहेछु । केही नराम्रो सल्लाह त दिएको छैन ।”-युधिष्ठिरले भनेका थिए । धृतराष्ट्रले सैनिकहरूलाई बोलाएर सोधपुछ गरे तर केही दण्ड दिएनन् ।
पछि थाहा भयो ती सैनिकहरू त दुर्योधनका सैनिक रहेछन् र दुर्योधनले उनीहरूको अनेकौं अपराध यसरी नै ढाकछोप गर्थे र दुर्योधनको अपराध चाहिँ धृतराष्ट्र ढाकछोप गर्थे । त्यही अपराध ढाकछोप गर्दागर्दै महाभारत युद्ध हुन पुग्यो । म युद्ध शुरू हुनुभन्दा अघि पनि तरबार पुगेँ र धृतराष्ट्रलाई सम्झाएँ कि पाण्डवप्रति न्याय गरियो भने युद्ध अझैं टालिन सक्छ तर, ती विचरा धृतराष्ट्रका बाहिरी आँखा मात्र होइन मनको विवेकमा पनि अँध्यारो छाएको थियो । उनले मेरो कुरा मानेनन् । युद्धको कुरा सुनेपछि वनतर्फ लागिसकेका थिए । म व्यास आज वनमा बसेर पनि युद्धमा मारिएका मानिसहरूप्रति दुःखी छु । धृतराष्ट्रले कसरी लडिरहेको होला ? म युद्धभूमिमा गएर के हेरूँ ? नजाऊँ मन मान्दैन, जाऊँ धृतराष्ट्रलाई के भनेर सान्त्वना दिऊँ ? ऊफ्, ईश्वर ! दरबारको षडयन्त्र, विवेकहीन राजाको कारणले देशले पाउने पीडा विधवाको चित्कार, यी सबैको अन्त्य कहिले हुन सक्ला ?
(स्रोत : मझेरी)
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger