एक दिन कैलाशमा ध्यानमा बसेका महादेवको ध्यान टाढा कतैबाट आएको चर्को होहल्लाका कारण भंग भएछ। ध्यानदृष्टिले विचार गर्दा उनले आफ्नो चिन्तन प्रक्रिया खलबल्याउने त्यो होहल्ला नेपालबाट आएको बुझेछन्। एउटा भन्दा अर्को जान्ने पल्टेर धर्मका बारेमा छेउ न पुच्छरको छलफल गरिरहेका नेपाली देखेर महादेवलाई हाँसो लागेछ, अलि झर्को पनि लागेछ। काँधमा जनै नभएका एक जना नेता हिन्दुत्वको भावना उराल्दै हिँडेको देखेछन्।
सत्कर्मी, सनातनी हिन्दुहरू चुपचाप बसेका तर अनाचार भ्रष्टाचारमा सजाय पाइसकेकाहरू भने हिन्दुवादको राग बजाउँदै हिँडेको पनि देखेछन्। मुलुक मारेको पापको प्रायश्चित्तका लागि केही पाखण्डीहरूले एउटा जोगीलाई सरकारी धनले पोसेका घटनामा पनि उनको दृष्टि परेछ। धर्मको नाम लिएपछि सातखुन माफ हुने अधर्मी प्रचलनले उनका आँखा तिर्मिराएछन्। प्रकटमा धर्मकै नाममा तर यथार्थमा छालाको रङका आधारमा मान्छेलाई आफ्नो मन्दिरमा प्रवेश गर्न नदिएको बुझेछन्। उनलाई दिक्क लागेछ। एकै दशकअघि प्रजातान्त्रिक शक्तिहरूलाई छाडेर तान्त्रिक शक्तिहरूका भर पर्दा राजाकै नामका ‘पूर्व’ थपिएको घटनाबाट सत्तासीनहरूले केही नसिकेको देखेर उनलाई चिन्ता र उदेकसमेत लागेछ। अनि उनले नन्दीलाई बोलाएर भनेछन्, ‘ए नन्दी, नेपाल गएर नेपालीहरूलाई एउटा खबर सुनाएर आइज है?’
‘शिरोपर महादेव!’ नन्दीले कान र पुच्छर हल्लाएछ। महादेवको आदेश पालना गर्नु उसको ड्युटी नै थियो। त्यसमाथि मर्त्यलोकमा, खासगरी नेपाल जान पाउँदा नन्दी अमेरिका जाने भिसा लागेका नेपालीजत्तिकै खुसी हुन्थ्यो। नेपालमा उसको पोटिलो शरीरमा कसैले आँखा लगाउँदैनथ्यो। नेपाली भूभाग, खासगरी काठमाडौं उपत्यकाका उर्वर खेतबारीमा ढलिमली गर्दै चर्न पाउँदा कैलाशमा हिउँले खाएको मसिनो झार चर्नभन्दा कैयन् गुना मजा हुन्थ्यो।
‘के खबर लैजाने हो महादेव?’ उसले विनीत भएर सोधेछ।
महादेवले भनेछन्, ‘नेपालीहरू सत्कर्ममा भन्दा धर्मको ढोँग, चर्चा र विवादमा बढी लागे। उनीहरूलाई मैले भनेको भनेर भन्, सत्कर्म गरे पुग्छ, धर्मको गफ नगरे राम्रो!’
नन्दी खुसी भएर काठमाडौं आएछ, तर आकाशबाट नै पहिले आफूले ढौंटरी मारेर चरेका खेतहरूमा घरैघर देखेर विरक्त भएछ। तर दक्षिण–पश्चिमतिर देखिएको चितवनको लोभलाग्दो हरियालीले उसको निराशा कम गराएछ। आकाशबाटै बाँकटे हानेर चितवनको एउटा खेतमा पसेर मजाले पेट भरेछ र महादेवको सन्देश सुनाउन अपराह्नतिर हल्लिँदै–हल्लिँदै देवघाट गएछ।
देवघाटको पावनभूमिमा भेला भएका भक्तहरूलाई नन्दीले बडो कन्पि्कडेन्ट्ली महादेवको सन्देश भनेर सुनाएछ, ‘धर्मको गफ गरे पुग्छ, सत्कर्म नगरे राम्रो!’
ठ्याक्कै उल्टो!
अनि त के चाहियो र? नेपालीहरू झन् चम्किई–चम्किई धर्मका गफ र गफमात्र गर्न थालेछन्। घरघरमा पुराण लाग्न थालेछ। भागवतको आध्यात्मिकतामा भन्दा नाचगानमा मान्छे रमाउन थालेछन्। मुसलमान र क्रिश्चियनहरूका मुलुकहरूमा गएर देश हेर्न, गोजी भर्न र मुख फेर्न लालायीत नेपालीहरू उनीहरूलाई गाली गर्नमा अझ सिपालु भएछन्। बोली र व्यवहारको भेद बढ्न थालेछ। सहिष्णुताका लागि कहलिएको जात असहिष्णु बन्दै गएछ। शुद्ध गायत्री जप्नसमेत नजान्नेहरू ‘हिन्दु राष्ट्र’ भनेर चिच्याउन थालेछन्। सनातनी हिन्दुभन्दा चैते हिन्दुत्ववादी बढेछन्। हिन्दुहरूमा धर्माचरण र रचनात्मकता खिइँदै गएछ। उनीहरू आफ्नो धर्मलाई परिमार्जन गर्नको साटो खि्रस्तानहरूलाई गाली गरेर बस्न थालेकाले चर्चहरूको संख्या भने बढ्दै गएछ। शिवलोकमा नेपालबाट अझ मिश्रित र अझ कर्णकटु होहल्ला पुग्न थालेछ।
नन्दी गएपछि हल्ला घट्नुको साटो बढेको देखेर महादेव छक्क परेछन्। त्रिभुवनपति महादेवले फेरि ध्यानदृष्टिले हेर्दा नन्दीको गोरुबुद्धिका कारण यो सबै कम्प्लिकेशन बढेको बुझेछन्। उनले नन्दीलाई बोलाएर भनेछन्, ‘तेरो बुद्धिका कारण मेरो मेसेज मिसइन्टरप्रेट भयो। तैंले जहाँको घाँस खाएर मेरो कुरा बिर्सिइस्, त्यहीँ जन्म लिनू र नेपालीहरूको पाखण्डको सिकार बन्नू!’
नन्दी भरङ्ग भएछ। तर हुने कुरा भइसकेको थियो। उसले ‘कूल’ भएरै सोधेछ, ‘यो श्रापबाट म कहिले मुक्त हूँला त देवाधिदेव?’
महादेवले भनेछन्, ‘हेर् बाबै, अरूतिरको कुरा भए म भन्न सक्ने थिएँ, तर नेपालीहरूको व्यवहारमा हाम्रो नियन्त्रण छैन भन्ने त तैंले बुझिसकेको छस्। त्यसमाथि उनीहरूलाई संविधानको रिँगटा लागेको छ। के गर्छस् बाबै, हरियो धान चर्ने लोभले मेरा कुरा उल्टा सुनाइस्, त्यसमा अलि सुधार नभइन्जेल त तैंले सजाय भोग्नैपर्छ। तर तँलाई थाहै छ, मलाई तेरो माया छ, मौका परेसम्म चाँडै उद्धार गरौंला।’
सजाय भोग्ने सिलसिलामा नन्दी चितवनका एक ब्राह्मणको गाई फार्मको गतिलो होलस्टिन गाईको गर्भमा बाछाका रूपमा प्रवेश गरेछ। जन्मिनासाथै मालिकले त्यसलाई थुकेछन्। पहिलो दिन केही खान दिएनछन्। गर्भको पोसको बलले एक दिन त्यसको प्राण धानिएछ। भोलिपल्ट त्यसलाई भुँडी फुल्नेगरी दूध खुवाइदिएछन्। बाछो पुक्लुक्कै भएछ।
‘कालगतिले मरेको’ त्यो दुई दिने बाछालाई मलखाडीका छेउमा गाडिराखेर फार्मका मालिक देवघाटमा आयोजित ‘हिन्दुराष्ट्र नेपाल’सम्बन्धी गोष्ठीमा भाग लिन गएछन्। त्यहाँ उनले गोरक्षाका बारेमा प्रवचन पनि दिन भ्याएछन्। नन्दी त्यसरी नै गोठैपिच्छे जन्मिन र मारिन थालेछ।
नन्दी श्रापग्रस्त भएर मध्य नेपालका भित्री मधेसहरूमा जन्म–मरणको छोटो चक्रमा घुम्न थालेपछि महादेवलाई भने चिन्ता लागेछ। बाहन नै नभएपछि उनको मोबिलिटीमा पनि असर परेछ। अनि यथार्थ बुझ्न भनेर एउटा पत्रकारको रूप धारण गरेर उनी चितवन नवलपरासीतिरका गाई फार्महरू डुल्न थालेछन्। त्यहाँका फार्महरूमा बाछीबाछी देखेपछि उनलाई अलिकति शंका लागेछ। बुझ्दै जाँदा बर्सेनि हजारौं नन्दीहरू यसरी नै कम्पोष्ट मल बनाउनमा प्रयोग भइरहेका देखेर फार्म मालिकहरूलाई ‘किन यसो गर्नुभएको?’ भनेर सोधेछन्।
‘यति महँगो दूध खुवाएर बाछा पाल्न पोस आउँदैन,’ मालिकहरूले जवाफ दिएछन्।
‘किन सानैमा मार्नु? हुर्किन त दिनू नि!’ महादेवले प्रश्न मिसिएको प्रस्ताव राखेछन्।
उनीहरूले भनेछन्,’ जोत्ने काम ट्र्याक्टरले गरिहाल्छ। के काम साँढेको?’
‘पारितिर निकासी गरे हुन्छ नि त!’
केही समयअघि अर्कै कुनै प्रसंगमा मेची अञ्चलको भ्रमण गरिभ्याएका महादेवले त्यताको बेस्ट प्राक्टिस यता पनि रिप्लिकेट हुन सक्छ कि भनेर थपेछन्।
जवाफ आएछ, ‘सरकारले निकासी गर्न दिँदैन।’
महादेव ट्वाँ परेछन्।
पत्रकार भएर कुरा बुझिसकेपछि उनले पशुविद्को रूप धारण गरेछन् र एक–दुई जना सांसदहरूलाई भेटेर गाई फार्महरूमा दिनहुँ मारिइरहेका बाछाहरूको फोटोसमेत देखाएर सही अर्थमा गोरक्षा गर्नका लागि हुर्केका पशु निकासी गर्न दिनु उचित हुने प्रस्ताव राखेछन्।
सांसदहरूले उनलाई नै ‘खि्रस्तानको दलाल’ भनेर खेद्न थालेपछि महादेवले अर्कै किसिमले प्रयास गर्न फेरि रूप परिवर्तन गरेछन्।
उता सांसदहरू भने आफूले थर्काएर एउटा खि्रस्तानको दलाललाई डाँडै कटाइदिएको गफ दिन थालेछन्।
त्यस दिन महादेवलाई लागेछ, ‘मैले घाँसमा भुलिएर उल्टो सन्देश सुनाउने बिचरो नन्दीलाई त सजाय दिएँ, तर उल्टो–सुल्टो नबुझी त्यो सन्देश कार्यान्वयन गर्ने बुद्धिमान र धर्मका प्रतिपालक भनाउँदा नेपालीलाई भने हात हाल्न सकिनँ। धत्, नेपाल घुम्दाघुम्दै म पनि पो शक्तिहीनहरूलाई मात्र दण्ड दिने भइसकेँछु।’
अनि महादेव त्यत्तिकै कैलाश फर्किएछन्।
कैलाश पुग्नासाथ ‘नेपालमा गाई’ भन्ने की–बोर्ड राखेर आफ्नो त्रिकालदर्शी सर्चइन्जिन दिव्यगुगलमा खोज्नासाथ उनले केही रोचक तथ्यहरू देखेछन्, जसमा धेरैचाहिँ डबलस्ट्यान्डर नै भन्न मिल्नेगरी विरोधाभाषी पाएछन्।
साक्षीट्यूबमा हेर्दा उनले दुई–दुइटा दाम्लाले टन्काएर, ब्रोइलर कुखुरालाई भन्दा पनि कँज्याएर र कुँज्याएर गाई पालिएका भिडियो क्लिपहरू देखेछन्। ‘सुधार’ लेखेका ठाउँमा क्लिक गर्दा वास्तविक सुधार ल्याउन कसैले नखोजेको, तर वर्षमा एकपटक गाईको पूजा गरेर गोसेवक कहलाइन खोजेको जस्ता केस स्टडीहरू भने बग्रेल्ती देखेछन्।
दिव्यगुगलले ‘नेपालमा गाईको मासु खाने परम्परा भएका समुदायहरू छन्’ भनेका कारण दुई दशकअघि खोलोपैह्रो लागेर पद्मरत्न तुलाधरलाई खेदेको पनि भिडियो क्लिप नै देखाएछ। उनले गाई काटेको अभियोगमा सजाय भोगिरहेका मान्छे पनि देखेछन् र फिले, टिन्डरलिओन लगायतका नाममा भन्सारको वैध बाटोबाट, सरकारलाई राजस्व तिरेर गोमांस भित्रिरहेको, डिपार्टमेन्टल स्टोरहरूमा खुला रूपले बिक्री भइरहेको र रेस्टुरेन्टहरूमा पाकिरहेको पनि देखेछन्।
त्यसपछि उनको दृष्टि नेपाली पत्रपत्रिकामा पुगेछ। समाचारहरू स्क्यान गर्दै जाँदा उनको नजर ‘भारततर्फ गाईगोरु निकासी गर्नेहरू पक्राउ’ भन्ने खालका समाचारमा अडिएछ। भारतसित सिमाना जोडिएको भए पनि मेची अञ्चलबाट भने त्यस्ता समाचारहरू नआएको नदेखेर उनको ध्यान त्यता पुगेछ। आफू पहिले घुमेका बेला हुलका हुल गाईबस्तु निकासी भइरहेका ठाउँबाट किन त्यस्ता समाचार आएनन् त? भनेर केही उपलब्ध तथ्यहरू विश्लेषण गर्दा उनले अर्को रोचक तथ्य भेटेछन्।
महादेवको दिव्यगुगलमा एउटा शब्द आएछ— सिङसावा। मूल भाषाको स्रोत नखुलेको त्यस शब्दको अर्थ दिव्यगुगलले देखायो— सिमाना वारपार गोरु व्यापार गर्ने व्यक्तिहरू। उनले मेची अञ्चलका विभिन्न नाकाबाट दशकौंदेखि भइरहेको बस्तुभाउ भारत निकासी गर्ने काममा हजारौं सिङसावाहरू संलग्न भएको पनि थाहा पाएछन्। महादेवलाई लागेछ, गाईगोरु धपाएर सिमाना कटाउने व्यापारीहरूलाई सिङसावा भनिए पनि उनीहरूलाई गाईगोरु बेच्ने सबै किसान प्रकारान्तरले सिङसावा हुन्। उनले गाईगोरु भारततिर बेच्ने काम त्यहाँको समाजमा स्वीकृत र कानुनी, प्रशासनिक हिसाबले अपराध भन्न नमिल्ने व्यापार भइसकेको बुझेछन्। त्यहाँ गाईपालनको अवस्था भौतिक र आर्थिक हिसाबले राम्रो हुनु र बाछामारहरू नहुनुको कारण सिङसावाहरू नै हुन् भन्ने पनि महादेवले बुझेछन्।
तर पनि नेपाल र नेपाली देखेर महादेवलाई लागेको आश्चर्यमा भने कमी आएनछ, किनभने उनले नेपालमा—
एउटा गोरुले महादेवको हवाला दिँदैन भनेको कुरा अर्थै नबुझी पत्याउने मानिस देखे,
धर्मको मर्म बिर्सेर देश लुट्नेहरूको खतरनाक धर्ममोह देखे,
हिन्दु धर्मावलम्बीभन्दा हिन्दुवादीहरू धेर देखे,
गोमांसको खुला आयात, व्यापार र परिकारहरू देखे,
सिमाना पार भए भने काटिन्छन् भन्ने पीरले सरकारले गाईबाछा निकासी गर्न नदिएको देखे,
र, ‘हुर्केर विदेशमा काटिनुभन्दा कलिलैमा गोठमै मारिनु निको’ भन्ने सरकारी नीति देखे,
बाछामारहरू नै गोरक्षक र हिन्दुराष्ट्रका पक्षधर कहलिएको देखे,
मेची र महाकालीका बीचमा चौधै खालका कानुन देखे!
अनि महादेवलाई फेरि नेपालमा खबर पठाउन मन लागेछ, ‘तिम्रा गाईहरू यसै पीडित छन्। यिनका ढाडमा ‘राष्ट्रिय जनावर’को बोझ नहालिदेऊ।’
तर, गाईका घाँटीबाट ‘राष्ट्रिय जनावर’को ढाल झिकिदिने बित्तिकै उछृंखल, आफूलाई हिन्दुविरोधी देखाउन खोज्नेहरूले गोपूजकहरूको मन दुख्नेगरी गाई काट्न थाल्ने र सामाजिक विग्रह मच्चिने सम्भावना देखेर उनले त्यतिमात्र भनेर काम नचल्ने देखेछन्।
अनि महादेवले एउटा सन्देश ड्राफ्ट गरेछन्, ‘गाईकै रक्षा र हितका लागि पनि उसलाई राष्ट्रिय जनावर घोषणा नगर, तर अर्काका धार्मिक आस्था, विश्वास, अभ्यास र शिष्टाचारहरूमा खलल पार्ने काम गरे गराएमा कानुनअनुसार दण्डनीय हुने भन्ने कुरा भने बलियोगरी राख।’
सन्देश लिखित भएकाले नन्दीले यसपटक उल्ट्याउने सम्भावना थिएन। तर ऊ त आफैं नै राष्ट्रिय जनावरको सुपुत्रका रूपमा जन्म मृत्यको फास्टट्र्याक सजायको अभिशाप भोगिरहेको थियो। महादेवले ‘खुइ्यय गरेछन्।
आफ्नो सन्देशको पिडिएफ प्रति बनाएर सबै सांसदहरूको मेलबक्समा हालिदिँदै, अलिकति निराश स्वरमा महादेव आफैंसित बोलेछन्, ‘गल्ती मेरै हो। पशुपतिका रूपमा म त्यहाँ गएँ। सबै मेरा भक्त भए तर पशुको भन्दा बढी बुद्धि कहिल्यै ग्रहण गरेनन्। यस्तो जानेको भए म मानवनाथ भएर नेपाल चलाउँथेँ।’
९ श्रावण, २०७२
(स्रोत : NagarikNews )
Post a Comment