Selamat Datang di Portal Sekolah

फेवाताल (पोखरा)



पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरु संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ कुमारी माछापुच्छ्रे हिमालको छायाँ देख्न सकिन्छ । त्यसैले त डेढ/दुई दशकअघि नै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ………………..।’ को रचना भएको हो ।
फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमश्रृंखला दृश्यावलोकन पनि गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । जसलाई हेरेर एउटा कविले कविता कोर्न सक्छ, गीतकारले गीत लेख्न सक्छ अनि कथा/उपन्यासकारले कथा, उपन्यास मन्थन गर्न सक्छ ।
फेवाताल डेटिङ्ग स्पट पनि
एकजना पर्यटक जसले फेवातालमा टहलिँदै दिन बिताउन सक्छ । बोटिङ्गमा रमाउँदै घण्टौं बिताउन सक्छ अनि फेवा किनारमा बनेका तारे होटलहरुमा बसेर पारिवारीक वातावरणमा हप्तौं गुजार्न सक्छ । परिवार लिएर आएकाहरु फेवातालमा रमाएर आफ्नो यात्रालाई अविस्मरणीय बनाउन सक्छन् ।
फेवाताल नवविवाहिता दुलाहा/दुलहीका लागि सुहागरात मनाउने राम्रो गन्तव्य हो । गर्लफ्रेण्ड/ब्वायफ्रेण्डका लागि डेटिङ्ग स्पट पनि हो । विद्यार्थी र साथीभाइका लागि सामुहिक घुम्ने गन्तव्य स्थल पनि हो फेवाताल । फेवातालसँगै जोडिएको बसुन्धरापार्क र कोमागाने पार्कले फेवाताललाई थप सुन्दरता थपेको छ । ती पार्कहरुमा युवा युवतीहरु आलिंगनमा बाधिँदै फेवातालको दृश्यावलोकन गरेको प्रशस्त देख्न पाइन्छ ।
धार्मिक स्थल
भक्तजनहरुका लागि धार्मिक स्थल पनि हो फेवाताल । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । जहाँ दिनहुँ हजारौं भक्तजनहरु पूजा आराधना गर्न आउने गर्दछन् । त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्दै फेवा सुन्दरताको रस्वादन गर्न सकिन्छ ।
उक्त तालवराही मन्दिर दर्शनका लागि डुङ्गा सयर अनिवार्य छ । तालको बीच भागमा रहेकाले डुङ्गामा मात्रै जान सकिने यो मन्दिरमा जाँदा डुङ्गाको मज्जा लिन पाइने भएको हो ।
डुङ्गा सयर
फेवातालको सुन्दरताको मज्जा त्यतिबेला मात्र पूर्ण हुन्छ, जतिबेला फेवातालमा डुङ्गा सयर गरिन्छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन सायद । डुङ्गा चढेर तालवराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द हो ।
फेवाताल बीचमा रहेको यो मन्दिरमा जाँदा तालवाराही देवीको दर्शन त छँदैछ, फेवातालको दृश्यावलोकन सँगै डुङ्गाको मज्जा पनि एकैसाथ लिन पाइन्छ ।
त्यस्तै, डुङ्गा सयरको पनि छुट्टाछुट्टै मज्जा लिने ठाउँ हो फेवाताल । फेवातालमा सामान्य डुङ्गादेखि प्याडलबोट, मोटरबोट र वाटरबलसम्मको मज्जा लिन सकिन्छ । जसले पर्यटकलाई एउटै तालमा छुट्टाछुट्टै डुङ्गा सयरको मज्जा दिन्छ ।
सायद ! यसैलाई कल्पना गरेर गायक शिव परियारले गीत गाए, फेवातालमा साईंली डुङ्गा सरर…………… ।

प्याराग्लाइडिङ्ग र अल्ट्रालाइट
फेवाको सुन्दरता त्यतिमा मात्र सीमित छैन । फेवातालको सुन्दरता सराङकोटबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । बिन्दबासिनी मन्दिरदेखि केही माथिबाटै देख्न सकिने फेवाताल सराङकोटसम्मबाटै देख्न सकिन्छ ।
त्यतिमात्र कहाँ हो र ? चराझैं आकाशमा उडेर पनि फेवातालको दृश्यपान गर्न सकिन्छ । प्याराग्लाइडिङ्ग र अल्ट्रालाइट (पुतलीजहाज) बाट पनि फेवातालको दृश्यावलोकन गर्न सकिने भएकाले यसको मज्जा नै छुट्टै हुन्छ, जुन मज्जा सायद संसारको अन्य ठाउँमा पाइन्छ । त्यसको महत्व बुझेरै होला, हिजोआज साहसिक खेलका रुपमा परिचित प्याराग्लाइडिङ्ग र अल्ट्रालाइटबाट फेवाताल घुम्नेको भीड नै लाग्ने गर्छ ।
फेवामाथि दुईवटा केबलकार
फेवाताल किनार लेकसाइडबाट शान्ति स्तुप तथा सराङकोटमा बन्न लागेको केबलकारबाट पनि फेवातालको दृश्यावलोकनमा सघाउने भएको छ । बैशाखबाट बनाउन शुरु गरेर १ वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएको केबलकारले फेवातालमा पर्यटक आगमनमा बृद्धि ल्याउनेमा दुईमत छैन । धार्मिक रुपले चिनिएको चाइनिज गुम्बा शान्ति स्तुपामा दिनहुँ हजारौं भक्तजन पुग्ने गर्छन् ।

केबलकार बनेको खण्डमा डुङ्गा सयर पछि जंगलको बाटो छिचोलेर शान्ति स्तुपा पुग्नुपर्ने जोखिमबाट भक्तजन मुक्त हुनेछन् भने पुम्दीभुम्दी नजिक भएर ग्रामिण सडकबाट जानुपर्ने बाध्यता हटेमा पर्यटक आगमनमा पक्कै बृद्धि ल्याउनेछ ।
प्राकृतिक छटा, हिमाल र सूर्योदय दृश्यावलोकनका लागि सराङकोट जानेको भीड नै लाग्ने गर्छ अहिलेपनि पोखरामा । केबलकार बनेर छोटो समयमा सहज र सुरक्षित यात्रा गर्ने परिस्थिति निर्माण भए यसले पर्यटक आगमनमा बृद्धि ल्याउने ढुक्कसँग भन्न सकिन्छ ।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger