Selamat Datang di Portal Sekolah

नयाँ सम्बन्ध


जीवनको कुनै एउटा मोडमा पुगेर मानवलाई बिहाको तलतल महिलाहरुलाई अमिलो पिरोको तलतल लागेभन्दा उग्र रुपमा लागेर आयो । यसर्थ उसले आफूलाई केटी खोजिदिनका लागि व्यग्र भएर समस्त आफन्तजन, साथीभाइ, इष्टमित्र, नातो नालो, छर छिमेकी, कुल—कुटूम्ब सबैतिर उग्र रुपमा प्रचार प्रसार ग¥यो ।आखिर जमाना प्रचारकै रहेछ । यत्रो प्रचार प्रसारको परिणाम राम्रै आयो । केटी हेर्नलाई उसले धेरै कष्ट गर्नु परेन । अर्थात् उसका काकाले ल्याएको एउटी केटीको पहिलो प्रस्ताव नै ऊद्धारा पारित भयो । केटीको नाउँ मेधावी । सरल तर गम्भीर मुहारले पहिलो झलकमै उसमा गहिरो प्रभाव जमाउन सक्यो । मेधावीले पनि उसको भद्र र सोझो व्यक्तित्व मन पराइन् र जिन्दगी बिताउन राजी भइन् ।पात्रो पल्टाउँदै गर्दा सकिनै लागेको असारको पुछारमा केवल एक लगन बाँकी रहेको देखा प¥यो । र क्यालेण्डरमा रहेको त्यो कालो अंकमा उनीहरुको जीवन रातो हुने पक्कापक्की भयो ।बिहाको मितिको टुँगो लागेर आफ्नो घर फर्केपछि उसले आफ्नो घरलाई फेरी लगाउन आउने जोगीलेझैँ वरपर चारैतिरबाट नियाल्यो । भित्र कोठा कोठा गएर चहा¥यो । घर अब बाँडिन्छ । कोठा अब बाँडिन्छ । खाट अब बाँडिन्छ । मुटु पनि साटिन्छ । ज्या ! मुटु त साटिइसक्यो । ऊ मुस्कुरायो आफैँ आफैँमा । यो सम्झिँदा उसले आफ्नै मुटुमा रगत भुलुक्क उम्लेको महसुस ग¥यो । मुटुमा गढेको मेधावीको तस्बीरबाट उनी सुटुक्क निस्केर उसको गालामा चढेर त्यसलाई गुलाबी रँगले पोतेर गइन् । केवल एक हप्ता बाँकी थियो । हतारमा कामहरु हुन लागे । बिहाको कार्ड, बेहुलीलाई लूगा, बेहुलोलाई सुट, जन्ती लैजाने बस, सिन्दुर, पोते, गहना, ग्रहशान्ति र नानेमुखीका पूजा सामग्री, भिडियो सुटवाला, पार्टी प्यालेस बुकिङ्ग…………………. काम धेरै समय थोरै । काम गरिदिनलाई उसका परिवारमा बा, आमा, दाजुभाइ, दिदी बहिनी सबै थिए । तिनले नपुगे सहयोगी छर—छिमेकी, कामचलाउ आफन्तजन अनि ज्यानै दिने हदसम्मका साथीभाइ पनि थिए । ऊसलाई ढुक्कै थियो । मेधावीलाई उसले जम्मा एक पटक देखेको थियो । त्यसो त अर्को हप्ता बिहा गरेर घर भित्र्याएपछि सधैँ देख्न पाउनेवाला नै थियो । तर यस्तो बेलामा धैर्य भन्ने चीज बेहुलीको घुम्टोभित्र उसको अनुहार लुकेझैँ लुकिदिन्छ । अधैर्य भने उसको मन मस्तिष्कमा काउसोसरी पसेको थियो । अनेक कसरत गरेर बिहेभन्दा पाँच दिन अघि मेधावीको फोन नम्बर माग्न लगायो र कुरा ग¥यो । तीन दिन अघि भेट्न बोलायो । भेट्न जाँदा मेधावीले एउटी बहिनी साथमा लिएर गइन् । ऊ आफ्ना अघिल्तिर दुइ केटी देखेर नर्भस भयो । राम्रोसित बोल्न त के ठीकसित अनुहार पनि हेर्न सकेन ।
अन्ततः असारको अन्तिम लगन अर्थात् उनीहरुको बिहाको दिन पनि आएरै छाड्यो । टाइसुट र रँगीबिरँगी सारीमा आएका जन्तीहरु बिहानैदेखि परेको झरीका कारण छाता ओढेर आएका थिए । बिहाको दिन मानव पुरै बेचैन थियो । सबैको आकर्षण, सबैको केन्द्रबिन्दु थियो । भुइँचालोको केन्द्रबिन्दु झैँ, सबैभन्दा धेरै कम्पनपनि उसकै मुटुबाट छुटिरहेको थियो । सबैभन्दा धेरै प्रभाव उसकै छातीमा देखिन्थ्यो ।र, बिहा उसको सकियो ।घरमा दुलही भित्र्याइसकेपछि ऊ एकपटक झसङ्ग भयो । ओहो ! ऊ त विवाहित पो भइसक्यो त । एक्लो कहाँ छ त ऊ अब ? बिहा भइसकेपश्चात् ऊ घरी घरी यहि कुरा मनमा खेलाइरहन्थ्यो । दोहो¥याइरहन्थ्यो । तेह¥याइरहन्थ्यो । र, यहि कुराले उसलाई मिठो तृप्ती दिइरहेछ । सन्तोसको सास फेरिरहेछ । साथसाथै कुतूहल, अर्ध उत्तेजना, संकोच, व्याकुलता, थोरै भय, अनि थोरै बिजयको भावले उसको मनमा आलोपालो गरेर आवतजावत गरिरहेछन् । उसको बिहा भएको दिन । ऊ बेहुलो भएको दिन । जीवनको सत्ताइस बर्ष एक्लै बिताएपछि आएको दिन । धेरै अघिदेखि कल्पना गरेको दिन । र, सायद धेरै पछिसम्म सम्झिइने दिन । कल्पनामा उसले यो दिनलाई खूब सजाएको थियो । पटकपटक सजाएको थियो । उसको बिहाको कार के सजिएको थियो र ? कल्पनामा उसले आफूलाई पनि सजाएको थियो । आफ्नी दुलहीलाई त झनै सजाएको थियो । जन्ती जाने हरेक व्यक्तिलाई सजाएको थियो । बेहुलीतिरका हरेक आगन्तुकलाई सजाएको थियो । बसलाई सजाएको थियो । कारलाई सजाएको थियो । सम्पूर्ण माहौललाई सजाएको थियो । आकासलाई सजाएको थियो । धरतीलाई सजाएको थियो । दिनलाई सजाएको थियो । साँझलाई सजाएको थियो । अनि रातलाई त झनै बिछट्टै अभूतपूर्व कलाले कुनै कुशल मूर्तीकारले ढुँगामा छिना चलाएझैँ सुन्दर आकृति दिएर सजाएको थियो । बिहाको रात । बिहापछि ऊ आफैँलाई आफ्नो घर नौलो लागिरहेको थियो । नयाँ दुलहीको उपस्थितिमा ती झन् नयाँ लागे । अस्ती भरखरै चिनेकी मेधावी बेहुली बन्दा कत्ति फरक ! उसको घरमा भित्रिँदा कति अलग । उसलाई आफू बसिरहेको टोल नयाँ लाग्यो । छर छिमेकीले आफूलाई नौलो तरीकाले हेरिरहेझैँ लाग्यो । आफन्तले आफूलाई गर्ने व्यवहार अघिपछिको भन्दा फरक लाग्यो । ऊ आफैँले आफैँलाई पनि बिगतको आफ्नो आँखाले हेरिरहेको थिएन । उसले आफ्नै जीवनमा आएको परिवर्तनलाई महसुस गरिरहेको थियो ।बिहाको रात उसले आफ्नो कोठालाई सर्सर्ती नियाल्यो । अनि झल्याँस्स भयो । यो एक हप्तामा उसले केही गरेन । कोठालाई खूब सजाउँछु भन्ने उसले सोचेको थियो । कल्पनामा त्यतिबिघ्न सजिएको कोठा यतिखेर झनै भद्रगोल देखियो । धेरै आगन्तुकहरुको ओहोरदोहोर भएकाले कोठाको स्थिति डामाडोल देखिन्थ्यो । जताततै अक्षतै अक्षता अनि फूल छरिएको, कागचका टुक्राहरु, प्लास्टिकका सस्याना त्यान्द्राहरु, अस्तव्यस्त किताबहरु, धुलो मैलो कोठा देखेर उसलाई बिरक्त लाग्यो । पलङ्ग, दराज अनि दुइवटा पेन्टिङ्ग भने उसले नयाँ किनेर ल्याएको थियो । नभए अरु सबै पुरानै थियो । त्यही पलङ्गमा धरी एउटा तन्ना हालिएको थिएन । पेन्टिङ्ग उसको दराजमाथि सरक्क राखिएको थियो । त्यो भित्तामा टाँग्नपनि भ्याएको थिएन उसले । पर्दाहरु पुरानै थिए । ठाउँ ठाउँका पर्दाका रिङ्गहरु झरेका थिए । पश्चिमतिरको झ्यालको छेस्किनी पसाङ्गिएको थियो, त्यो बनाउन पनि भ्याएनछ । ओहो ! ढोकाकै चुकुल पनि त बिग्रिएको छ । बिहेअघि ऊ ढोका नलगाइकन सुत्थ्यो । केही वास्ता थिएन । तर अब त ऊ विवाहित भयो । उसलाई ढोकाको चुकल नबनाएकोमा भने ठूलो ग्लानि भयो । पर्दा र छेस्कीनीको मूल्य विवाहित भएपछि मात्र थाहा हुँदोरहेछ । बिहेमा आएका आगन्तुकहरु, जो उसको कोठामा बसिरहेका थिए, त्यहाँबाट निस्कनासाथ उसले ढोकाको चुकुल निरिक्षण ग¥यो । लगाउनै नसकिने भएको रहेछ । उसको आफ्नै ध्यान त पुगेन, अरुको झन् के पुगोस् ? त्यसो त एक हप्तामै बिहाको टुङ्गो लागेको थियो, के भ्याओस् । बिहा पछि उसको जीवन कस्तो हुन्छ ? उसले केही सोच्न पनि पाएको थिएन ।मरीतरी ठेलठाल पारेर त्यसदिन उसले ढोकाको माथ्लो चुकुल लगायो । तल्लो चुकुल लाग्न नसकेकाले ढोकामा एउटा च्याप रह्यो, जुन बाहिरबाट अलिकति मात्रै ठेलिएमा उसको कोठा छर्लङ्गै देखिन सक्थ्यो । भोली मिस्त्री बोलाएर ढोका र झ्याल दुबैको चुकुल दुरुस्त बनाउँछु, उसले मनमनै संकल्प ग¥यो । त्यो रात दुलही लूगा फेरेर आफूलाई थकाइ लागेको बताउँदै सुतिहालिन् । उनीहरुबीच सामान्य गफसम्म पनि हुन पाएन । निदाइरहेकी मेधावीलाई उसले निक्कैबेरसम्म हेरिरह्यो मन्द मुस्कुराउँदै छाती फुलायो ।घरमा आएका आगन्तुकहरु सबै फर्किइसकेका थिएनन् । उसको घर एक किसिमले भीडभाडकै अवस्थामा देखिन्थ्यो । ऊ बिहान उठेर सबैभन्दा पहिला मिस्त्री खोज्न गयो । मिस्त्री गाउँ गएकाले एक दुइ दिनमा आउने खबर उसले पायो । अन्त पनि एकदुइ ठाउँमा खोज्न गयो, कसैले नभ्याउने बताए त कोही साइटमा गएको जानकारी लिएर फिर्ता भयो ।कोठा चाहिँ अलिअलि भएपनि बनाउँदै गर्नुपर्ला । फर्कँदै गर्दा उसले सोच्यो । फर्कँदै गर्दा मेधावी कोठा बढारिरहेको फेला परिन् । उसलाई माया लागेर आयो । बिचरी आएकै भोलीपल्ट के दुःख बिसाएकी होली । उसले पत्नीका अघिल्तिर कुचो लिन खोज्दै भन्यो पनि, ‘छोड्देऊ म गर्छु । आउँदा आउँदै के दुःख बेसाउँछ्यौ ?’‘भैगो,’ मेधावीले उनको मुहारमा हेर्दै नहेरी भनिन्, ‘म गरिहाल्छु नि ।’ऊ पर्दाका रिङहरु मिलाउनुप¥यो भनी त्यता लाग्न आँट्यो । बाहिरबाट बोलावट भयो, घरमा पूजा हुँदैछ । ऊ नुहाउनतिर लाग्यो । दुलहीपनि पूजातर्फै लगिइन् ।घरबाट आगन्तुकहरु बिस्तारै घट्दै गए । भीडभाडमा उनीहरु एक आपससँग ठीकसँग बोल्न पनि पाएका थिएनन् । भीड घट्दै गएपछि उनीहरुबीच छिटपुट संवाद र हेराहेरले ठाउँ पायो ।घर अलिक खाली खाली भएपछि ऊ आफैँ कोठाको सरसफाइमा तात्यो । कोठाका कुनाकाप्चाबाट धुलो र फोहर निकाल्यो । पर्दाका रिङ मिलाउने फुर्सद बल्ल उसलाई मिल्यो । एक एक गर्दै पर्दाका रिङहरु मिलाउँदै गर्दा दुलहीले पनि पर्दामा रिङ हालिदिएर सहयोग गरिन् ।दुवैजना एउटै सोफामा बसेर काम गरिरहेछन् । र बेला बेलामा एक अर्काका आँखामा अर्कोले थाहा नपाओस् भनेर हेरिरहेछन् । तर घरी घरी आँखा जुधेरै छाड्थ्यो । ऊ छेउमा आफ्नी नयाँ दुलहीको उपस्थितिलाई लिएर बिछट्टै आनन्द महसुस गरिरहेछ । एउटा नौलो र अद्भूत गन्धले ऊ लठ्ठिरहेको छ । बोल्ने शीर्षकहरु धेरै छैनन् । छुने बहाना छैन । केही अगाडी बढौँ झैँ लाग्छ, तर खै केले हो अल्झाइरहेछ । असन्तुष्टिको तडप आफ्नो ठाउँमा होला तर सन्तुष्टिको अलग अनुभूति पनि उसँग यतिखेर छ । त्यसैले त अघिपछि सधैँ झर्को लाग्ने कामले उसलाई योपाली रोमाञ्चक अनुभूति दिइरहेछ । नव दुलहीलाई पनि बडो बेग्लै अनुभव भइरहेछ । एकातिर उनी घरी घरी ऐनामा आफ्नो सिन्दुर र पोते सहितको हुलिया देखेर आफैँमा बिस्मित भइरहेकी छिन् भने पतिलाई छेउमा पाउँदा अलिकति रोमाञ्चक र अलिकति डरको मिश्रित अनुभूति गरिरहेकी छिन् । मानव उसलाई पहिलो भेटबाटै प्यारो लागेको थियो । पुक्क पुक्क पाउरोटीजस्ता गाला अनि त्यही गालामा पर्ने डिम्पल, नदीको भुमरी पर्ने ठाउँजस्तो उनलाई लागिरहेथ्यो, जसमा उनी डुब्ने तरखरमा थिइन् ।पर्दा भित्तामा टाँगियो । अब पालो बरण्डाको सरसफाइको थियो । दुबैजना मिलेर गरे । सफाइ गर्नुअघि मानवले दुइवटा मास्क किनेर ल्यायो । एउटा मेधावीलाई दियो, एउटा आफूले लगायो । मेधावीले सारी कम्मरमा बाँधिन् र कुचो लगाइन् । फोहोर मानवले उठायो र घरबाहिर रहेको डस्टबिनमा लगेर फ्याँकिदियो । त्सपछि पानीले सप्पै भुइँ पुछे टिलिक्क पारे । झ्यालका सिसाहरु कोलिनले घोटी घोटी पुछे । उनीहरुको कोठा र बरण्डा बल्ल सफा र सुग्घर देखियो ।
मेधावीलाई चोलोमा इस्त्री लगाउन प¥यो । मानव इस्त्री खोज्नतिर लाग्छ । फेला पर्छ त एउटा तार चुँडिएको इस्त्री । कसले चुँडाल्यो ? केही दिनअघिसम्म ठीक थियो । न मुसाले खायो कि ! मेधावीलाई सगल्ती इस्त्री दिन नपाएकोमा उसलाई घरका सबै सदस्यप्रति झोँक चल्यो । एकपटक ‘कसको काम हो यो ?’ भनी झोँक्कियो पनि । तर रिस शान्त पार्दै उसले मेधावीलाई लगेर चुँडिएको तार देखायो । इस्त्रीको चुँडिएको तार देखेर उनी हाँसिन र पतिलाई बिल्ला गरिन्, ‘यसलाई आगोमा तताएर लगाउनु ?’ उनको मिठो हाँसो देखेर उसले आफूलाई रोक्न सकेन । सँगसँगै लागेर हाँस्यो । मेधावीले भनिन्, ‘जोड्ने पनि कि हाँसेरै बस्ने ?’ ऊ टेप खोज्न लाग्यो । कहाँ कहाँ खोज्यो, कहीँ भेटेन । मेधावीलेपनि मिल्नेजति ठाउँमा खोजिदिइन् । अब उनीहरुबीच प्रतिश्पर्धा नै हुन लाग्यो, कसले भेट्टाउने टेप ? ‘कहाँ राख्नुभाथ्यो याद छ ?’ उनी मुसुमुसु हाँस्दै सोध्छिन् । किनकि टेप उनले अघि नै भेटिसकेकी थिइन् । आफ्ना पतिलाई यताउता दुःख दिइरहेकी थिइन् । जिस्किरहेकी थिइन् । उनलाई बडो मज्जा लागिरहेको थियो ।‘यहिँ किताबको ¥याकमै थियो,’ यो पाँचौ पटक भयो उसले किताब राख्ने ¥याकमा खोजेको । तर भेट्दैन । निक्कै बेरपछि पतिको मायाले होला उनी कराइन्, ‘यी भेटियो !’‘कहाँ रैछ ?’‘यहिँ झ्यालमा,’ मनमनै बेजोड उठिरहेको हाँसो थाम्दै उनले झूट बोलिन् । ऊ नपत्याइरहन सकेन ।
‘भित्तामा पेन्टिङ्ग टाँग्न त अझ बाँकी नै छ,’ अर्कोदिन उसले मेचमाथि चढेर ¥याकका किताबहरु पुछिरहेकी मेधावीनजीक गएर उँभोमुन्टो लगाउँदै भन्यो ।‘टाँगौ न त ।’ मेधावीले पुछिसकेको एउटा किताब ¥याकमा मिलाएर हालिन् अनि तलतिर हेर्दै भनिन्, ‘हतौडा र किल्ला कहाँ छ ?’ उसले दराजको घर्रामा राखेको हतौडा र किल्ला निकाल्यो । ‘यहाँ कस्तो होला ?’ उसले पूर्वतिरको भित्ता देखाउँदै भन्यो ।‘नाइँ त्यहाँ त ढोका खुल्ला हुँदा अर्कोतिरबाट छेकिन्छ,’ अनि पश्चिमतिरको भित्ता देखाउँदै भनिन्, ‘त्यता राख्दा चारैतिरबाट देखिन्छ ।’पहिलो पेन्टिङ्ग उनीहरुले पश्चिमतिरको भित्तामा टाँगे । दोस्रो उत्तरतिर जहाँ झ्याल थिएनन् ।दोस्रो पेन्टिङ्ग टाँग्ने बेलामा मेधावीले अनुहारमा चमक ल्याउँदै भनिन्, ‘कस्तो राम्रो ! यो केटीको आँखाभित्रै कतिथोक अटाएको है ?’ पत्नीलाई आफूले किनेको पेन्टिङ्ग मन परेकामा मानव गद्गद भयो । अझ हौसिँदै गिजासमेत देखिनेगरि हाँस्दै भन्यो, ‘चार हजारमा किनेको । म तिमीलाई यो किनेको ठाउँमा भोली नै लिएर जान्छु ।’ पति चाहिने भन्दा बढी फुर्केकाले मेधावीले मनमनै आफैँलाई भनन्,‘कति धेरै फुर्केका !’ठ्वाङ ठ्वाङ किल्ला भित्तामा गढेको आवाज आयो । उसलाई हतौडा एकपटक आफ्नै हातमा हानौँ लाग्यो । प्रयास ग¥यो । ‘ऐय्या,’ सानो प्रहारपनि दुख्ने बनिदियो ।
मेधावी ‘के भो ?’ भनेर आत्तिइन् ।ऊ तल झ¥यो । औँलाबाट अलिकति रगत बग्यो । मेधावीले उसलाई सोधेर डेटोल र कपास लिएर आइन् । र कपासमा डेटोल दलिदिँदै लगाइदिन थालिन् । ऊसलाई यो दुखाइ जीवनकै सबैभन्दा मिठो दुखाइ लाग्यो ।पहिलो श्पर्श थियो उसको यो । मेधावी उसको एकदमै नजीक भइन् । उनले सास फेरेको समेत उसले महसुस गर्न पायो । कति मिठो बास्ना आउँदोरहेछ मेधावीको शरीरबाट । नको सासले उसको घाँटीलाई कुत्कुत्याइरहेको थियो । उसलाई औँलाबाट बग्ने रगत नथामिदेओस् जस्तो लाग्यो ।
नयाँ दुलही भित्रिएकी छिन् । कोठामा छिन छिनमा कोही न कोही आइरहन्छन् । कहिले उसलाई बाहिर जानुपर्ने हुन्छ, कहिले नयाँ दुलहीलाई । उनीहरुले एकान्त त्यति पाउँदैनन् । ढोकामा तलतिरको चुकुल भने अझै बनाउन पाएको छैन । आजपनि मिस्त्री फेला परेन । भोली त आफैँ भएपनि बनाउँछु । उसले मनमनै सोच्यो । उनीहरु राती हलुका गफ गर्ने अवस्थासम्म उक्लिएका थिए । एक आपसका रुचिहरुका बारेमा सोध्न थालेका थिए । भरखर परिचय भएका दुइ क्लासमेटहरुजस्ता कुरा उनीहरुका बीचमा हुन्थ्यो । एकदमै सरल । खाटमा करीब एक फिटको दुरीमा पल्टिएर एक आपसतिर हेरेर उनीहरु कुरा गर्न लागे ।मेधावी यस्ता कुराहरु सुनाउँथिन्, ‘घरमा भाइ र मेरो धेरै झगडा पथ्र्यो, बोलचालै नहुनेगरी ।’‘ममी त मेरो बेस्ट फ्रेण्ड हो ।’‘बाबा धेरै कडा । अगाडी र्नि पनि डर लाग्छ ।’‘लभ म्यारिज गर्न मलाई कहिले मन परेन ।’‘दुइपटक पोखरा गएकी छु । मनाङ्ग जाने इच्छा छ ।’
मानवपनि आफ्ना कुराहरु सुनाउन थालेको थियो ।‘तिमीअघि कोही केटी हेरिनँ ।’ ‘कलेजमा एकजना केटी मन त पथ्र्यो तर त्यसले आफूलाई कहिल्यै हेरिन ।’‘एकपटक कलकतासम्म पुगेको थिएँ । तर समुद्र हेर्न नपाइ फर्किनुप¥यो । समुद्रमा नुहाउने ठूलो रहर छ ।’‘एउटा मिल्ने साथी थियो जो प्लेन दुर्घटनामा मरेको ठ्याक्कै एक वर्ष भो । आजपनि याद आउँछ ।’यी यावत् कुराहरु । एउटा कुरासँग अर्को कुराको सम्बन्ध हुँदैनथियो । तर उनीहरु एक आपसलाई सुनाइरहन्थे । सुन्ने मुग्ध भएर सुनिरहेको हुन्थ्यो । भन्नेलाई झनै हौसला मिल्थ्यो । राती अबेरसम्म उनीहरुहरुको कोठाबाट घरी माहुरीझैँ गुनगुनगुन जान्थ्यो, घरी अनायासका खित्काहरु प्रसारित भइरहेथ्यो ।
अर्कोदिन उनीहरु पसाङ्गिएको झ्याल र ढोकाको तल्लो र माथ्लो दुबै चुकुल बनाउन लागे । पसाङ्गिएको झ्यालका लागि बाहिरपट्टि ऊ गयो र भित्रबाट पत्नीलाई झ्याल लगाउन लायो । ‘अलिक जोडले,’ मेधावी भित्रबाट कराउँथिन् । ‘ठेल्दै त छु,’ मानव बाहिरबाट बल लगाएर जवाफ दिन्थ्यो ।ढोकाको लागि उसले नयाँ चुकुल किनेर ल्यायो र नापजाप गरेर ठोकठाक पा¥यो । ‘हतौडा हातमा हान्ने होइन नि त्यहाँ,’ मेधावीले मस्किँदै हपारिन् । ‘कसरी थाहा पायौ ?’ ऊ झसङ्ग तर्सेर यो सोध्न पुग्यो ।‘के साँच्चिकै जानाजानी हान्नुभाथ्यो र ?’ आँखा ठूल्ठूला बनाउँदै मानवतिर हेरिन् ।पत्नीले आँखैमा घुरेर हेर्दै सोधेकी थिइन् । ऊ लाजले भुतुक्कै भयो । निक्कैबेरसम्म केही जवाफ दिन सकेन । मेधावीले नै सोधिन्, ‘किन त्यस्तो गर्नुभा ?’‘होइन होइन,’ उसले आफ्ना आँखा पत्नीको आँखाको सम्पर्कबाट चुँडालेर अन्यत्रै लग्यो ।‘खूब ! किन त्यसो गर्नुभो भन्नुस्,’ ¥याख¥याक्ती पार्न लागिन् उनले । ऊ लाज मान्दै कुरा छक्याउन मात्र खोजिरह्यो ।
चुकुल बन्यो । ढोकाका दुबै चुकुल लाग्दा उनीहरुले बेग्लै संसारमा प्रवेश गरेको अनुभूति गरे । ढोकाको चुकुल लाग्ने भएपछि उनीहरु आपस्तमा झनै खुल्ने हुँदै गए । झ्यालका पर्दाहरु ठीक हुनुले उनीहरुबीचको पारदर्शिता बढ्दै गयो । कोठा आफ्नो ढँगमा आएपछि उनीहरुले पनि आफ्नो रङ्ग देखाउन थाले ।सबै चीजहरु यसरी बन्दै गए । बिग्रिएका सब चीज ठीक ठाउँमा आए । केही बिग्रने चीजले अरु कुनै चीजलाई बनाउँदो पनि रहेछ, जस्तो कि उनीहरुको सम्बन्ध । ती चीजहरु बिग्रँदा उनीहरु टाढा थिए । ती चीजहरु सबै बनिसक्दासम्म उनीहरु नजीक भए । बनेपछि ती बिग्रिएका सबै चीज सुन्दर देखिए । र देखियो उनीहरुको सम्बन्धपनि अझ सुन्दर । अझ प्रगाढ । उनीहरुको सम्बन्ध जो यी र यस्तै बिग्रिएका चीजहरु बनिसकेपश्चात् झैँ दुरुस्त भयो । उनीहरुको सम्बन्ध, जस्तो कि भरखरै ठोकिएको किलाजस्तै नउक्किने हुँदै गयो र भित्तामा टाँगिएको पेन्टिङ्गझैँ चित्ताकर्षक । इस्त्रीको तार गाँसिएझैँ राम्रोसित गाँसिन पुग्यो । उनीहरु दुवैले आआफ्नो विश्वासको कुचोले सम्बन्धमा पस्न खोजेको धुलोलाई पनि पछिपछिसम्म बेला बेलामा बडारिरहे ।
सुबिन भट्टराई 
२०७४ भदौ ७ गते
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger