भगवान रामको ससुराली रयो क्षेत्र धार्मिक पर्यटनका लागि नेपालकै प्रशिद्ध स्थलमध्ये पर्छ ।


विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, छठ, झुला, परिक्रमाजस्ता धार्मिक गतिविधिले यस ठाउँमा सुनमा सुगन्ध थापेको मानिन्छ । बृहद् विष्णुपुराण, वायुपुराण, शतपथ, भागवत, वाल्मीकि रामायण, वृहदारण्यकोपनिषद्जस्ता धार्मिक ग्रन्थहरूमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रूपमा जनकपुरलाई उल्लेख गरिएको पाइन्छ ।
श्रीसीतायनमा जनकपुरधामको वर्णन गरिएको श्लोक यसप्रकारको छ –
सच्चिदआनन्दधाम जनकपुर ।
जेही ध्यावत विधि हरिहर सब सुर ।।
(अर्थात् जनकपुरधाम सत्य, चित्त र आनन्दको धाम हो जहाँं ब्रह्मा, विष्णु, महेश सबै देवताले ध्यान गर्दछन् ।)
जनकपुरमा पर्यटनको आरम्भको लिखित तथा पौराणिककालदेखि पाइन्छ । पौराणिक ग्रन्थका आधारमा जनकपुर आउने पहिला पर्यटक विदेह माधव हुन् । शत्पथ ब्राह्मण ग्रन्थमा विदेह माधवको चर्चा गर्दै उनले आर्यहरूको प्रथम देवता वैश्वानर अग्निलाई आफ्नो मुखबाट प्रकट गरेको उल्लेख पाइन्छ ।
त्यसपछि वैदिक र औपनिषदिक ऋचाहरूको रचना गर्ने ऋषिहरूको आगमनका प्रसङ्ग पाइन्छ । याज्ञवलक्य, अष्टावक्र, गार्गी, मैत्रेयी जनक दरबारमा तत्व मीमांसाका लागि पर्यटकका रूपमा आएर आश्रमसमेत बनाएको चर्चा छ ।
भनिन्छ, कृति जनकको राजसभा कोशल तथा कुरु प्रदेशबाट आएका विद्वानहरू अश्वल, जरत्कारव, भुज्यु, याज्ञवलक्य, उशस्तु, गार्गी, आरुणि रत्नबाट अलङ्गकृत थिए । जैनहरूका २४औैं तीर्थाकरको जन्म यहाँ नै भएको थियो । अन्तिम तीर्थाकर महावीरको एउटा गणधर यहींका थिए । महावीर स्वयम्ले पनि यहाँ ६ वर्ष बिताएको प्रसङ्ग पाइन्छ ।
बौद्ध पन्ध्र जातकमा जनकपुरको वर्णन छ । विभिन्न प्रकरणमा स्वयम् भगवान् श्रीकृष्ण यहाँ तीनपटक आएको प्रमाण महाभारतमा पाइन्छ । सुफी सन्तहरूको कर्मक्षेत्र रहेको आधारमा मुसलमानका लागि पनि यो भूमि परम पावन रहेको छ ।
बज्जिसङ्घको सदस्य भएपछि यहाँ बौद्ध धर्मावलम्बीहरूको ओइरो लागेको उल्लेख पाइन्छ । सन् ६४३ तिर चिनियाँ यात्री हुएनसाङ जनकपुर आएको कुरा आफ्नो यात्रावृत्तान्तमा चर्चा गरेका छन् । पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानअन्तर्गत काठमाडौं राज्य जयप्रकाश मल्लले बचाउन शाहको विरोधमा अङ्ग्रेजहरूलाई उचाल्दा सन् १७६७ मा किनलकको नेपाल प्रवेश जनकपुर हुँदै भएको कुरा इतिहासबाट प्रमाणित छ ।
पश्चिमेली नागरिकमा जनकपुरमा सन् १९६४ तिर आउने अमेरिकी पिसकोर स्वयम्सेवक अर्नल्ड दम्पती पहिला हुन् । त्यसपछि जनकपुर चुरोट कारखाना भवन निर्माणका क्रमा रुसी नागरिको आगमन भएको बताइन्छ ।
त्यस्तै अमेरिकी महिला क्लेयर बर्कटले कुवामा महिला विकास केन्द्रको स्थापना गरी मिथिला चित्रकलाको अन्तर्राष्ट्रिय बजारमा प्रसिद्धि दिलाएको पाइन्छ । जनकपुर वरपरक्षेत्रमा रहेका धुनषाधाम, जलेश्वर, गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान रहेको छ ।
विगत केही वर्षमा राजा जनक र थाइल्यान्डका राजका पुर्वजहरूका बीचको सम्बन्ध प्रकाशमा आएको छ । थाइल्यान्डका राजाले आफूलाई रामको दशौं जन्मका रूपमा प्रस्तुत गर्ने गरेका तथ्यले पनि यस पक्षलाई झन् उजागर गरेको छ । थाइल्यान्ड एक स्थापित पर्यटकीयस्थल भएकाले पनि नेपाली पर्यटनमा यसको सकारात्मक असर पर्न जाने संस्कृतिविद् डा. रामदयाल राकेश बताउँछन् ।
पर्यटनशास्त्री एच. रबिन्सनले राम्रो हावापानी, आकर्षक दृश्य, ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा, पहुँचको सुगमता, मनोरञ्जनका संसाधनहरू आरामदायी बसोबास र अतिथि सत्कारलाई पर्यटनका आवश्यक तत्व माने झैँ यहाँ यी तत्वहरूलाई योजनाबद्ध रूपमा विकसित गर्ने आधार प्रशस्त भएको पनि उनले बताए ।

प्राध्यापक डा. भोगेन्द्र झा ‘व्यथित’ एउटा छविका रूपमा विकसित गर्न कुनै पनि स्थानलाई ब्रान्डिङ गर्नुपर्ने भएकाले जनकपुरपनि विवाहभूमि वा आदर्श भूमिका रूपमा चिनारी गराई देशविदेशबाट नवजोडीहरू विवाहका लागि आउने गन्तव्यस्थलका रूपमा विकसित गर्न सकिने बताउँछन् ।
Post a Comment