Selamat Datang di Portal Sekolah

Muskan

एक चीज, जो हामीसित छ । जो हर कोहीलाई दिन सक्छौँ । दिएर जो सकिन्न । बरु झनै बढ्छ । तरपनि दिन कञ्जुस्याइँ गर्छौँ—एउटा मिठो मुस्कान, जसको मोल करोडौँको छ, जो अनमोल छ । मुस्कान हरेकसँग हुन्छ । मुस्कुराउन हरेकले जानेको हुन्छ । तर मुस्कुराउँदैन । मानौँ हरेक पटक मुस्कुराएको बदलामा ट्याक्स भर्नुपरिरहेछ । मानौँ हरेक पटक मुस्कुराउँदा उसको गोजी रित्तिएको हुन्छ । मानौँ मुस्कुराउनु व्यर्थ हो । मानौँ मुस्कुराउँदा केही अनिष्ट हुन्छ । मानौँ मुस्कुराउँदा अस्वस्थ भइन्छ । कहिलेकाँही किनमेलका लागि बजारतिर निस्कन्छु । कुनै पसलमा भएको सामानमा आँखा जान्छ तर साहुजीको ओठमा मुस्कान नभेट्दा मेरो झोलीमा आउन लागेको त्यो सामानपनि मसित रिसाएर ‘तँसँग आउँदिन’ भनिरहेको जस्तो लाग्छ । अझ केही व्यापारीहरु यसरी व्यवहार गर्छन् मानौँ उसले सामान फ्री मा दिनुपरिरहेछ । डिस्काउन्टको कुरा त परै जाओस्, पुरै पैसा तिरेर किन्न खोजेको सामानको भाउ भनिरहँदा पनि ऊसको अनुहार यस्तो लागिरहेको हुन्छ मानौँ सारा संसारसित झगडा गरेर आएको छ । मानौँ कब्जिएतले उसलाई बाल्यकालदेखि नै सताइरहेको छ । सरकारी कार्यालय, बैँक, सार्वजनिक ठाउँ आदिमा कसैसित व्यवहार गर्नपूर्व मुस्कुराउने चलन हामीसित छैन । यहि समाजमा हुर्केको म, एकपटक यूरोपको यात्रामा निस्कँदा बुझेँ, मुस्कुराउनु वा शभ्य हुनु भनेको के रहेछ । त्यसको असर कस्तो हुँदो रहेछ । गोराहरुसित कथम कदाचित् आँखा जुधिहाले उनीहरु मुसुक्क हाँस्दै ‘हेलो’ भनिहाल्छन् । शुरु शुरुमा अन्यौलले गर्दा कतिजनालाई मैले मुस्कुराएर जवाफ दिन सकिनँ । एकपटक पेरिसमा आइफिल टावर घुम्ने ठाउँ नजीकै एउटा रेस्टुरेन्टमा खानेकुरा अर्डर गर्ने बेलामा त्यहाँको ओनरलाई मैले ठाडो ठाडो रुपमा खानेकुरा अर्डर गरेँ । त्यो मान्छे मसित रिसाएछ । भन्यो, ‘तिम्रो सोमत छैन ? मान्छेसित बोल्ने तमीज छैन ? कुन मुलकका हौ ? इण्डियन ?’ म छक्क परेर उसलाई हेरिरहेँ । अलिकति डर पनि लाग्यो । केही बिराएँ कि भन्ने पनि लाग्यो । ‘के भयो ?’ यो प्रश्न मुखले नसोधेतापनि हृदयले बडो भय र व्याकुल मुद्रामा सोधिरहेको थियो । ती व्यक्तिले भने, ‘कसैसित बोल्नु अघि अलिक अदब राखेर बोल्ने गर । यो पेरिस हो । तिम्रो इण्डिया होइन । न हाइ, न हेलो । न ओठमा मुस्कान, यसरी पनि कोही कसैसित बोल्छ ?’ डरले गर्दा मैले आफ्नो मुलुक सच्याउने साहस पनि गर्न सकिनँ । त्यसदिन साँच्चै म लज्जित भएँ । उनीहरुको देशमा हुने अदब हामीकहाँ थिएन । हामीलाई कसैसित बोल्नुपूर्व हाइ, हेलो भन्न वा मुस्कुराउन सिकाइएन । हामी पसलमा केही किन्न जाँदा ‘साहुजी दब रुपियाँको बिस्कुट दिनुस् न,’ भनेर ठाडै बोल्थ्यौँ । हामीमा त्यो संस्कार कहिल्यै आएन । अरुलाई इज्जत दिन त हामीले कहिल्यै जानेनौँ तर अरुबाट इज्जत नपाएकोमा झोक्किँन भने कहिल्यै छाडेनौँ । यूरोपमा त्यसअघि पनि हरेक मानिससित, चाहे कतै बाटो भुलेर बाटो सोध्ने क्रममा होस, चाहे कुनै ग्रोसरीमा केही खरिदारी गर्ने क्रममा होस्, चाहे ट्रेनमा वा बसमा अरु मानिससित बोल्दा होस् अदबले कहिल्यै बोलिएन । मुस्कुराएर शुरुवात गर्न कहिल्यै जानिएन । र बदलामा पनि उनीहरुबाट पनि उस्तै रुखो व्यवहार पाइरहियो । तर पेरिसमा घटेको त्यो घटनापश्चात् बडो संवेदनशील भएर अरु मानिससित बोल्न थालियो । पहिला मुस्कुराउँदै ‘हाइ,’ या ‘हेलो,’ भनियो, जसपश्चात् उनीहरु पनि मुस्कुराउँथे र हाम्रो जिज्ञासा ध्यान दिएर सुन्थे । कतिपय ठाउँमा अल्मलिँदा मुस्कुराएर संवाद शुरु गर्न थालियो । त्यही व्यवहारका कारण उनीहरु हामीलाई हामीले खोजेको ठाउँसम्म पु¥याइदिन्थे । केहीलाई हामीले सोधेको खोजेको ठाउँ थाहा हुन्नथियो । उनीहरु आफ्नो मोबाइल निकाल्थे र डाटा अन गरेर म्यापमा हामीले खोजेको ठाउँ खोज्न मद्दत गरिदिन्थे । यतिसम्मका सहयोगी । ‘हाइ,’ ‘हेलो,’ भन्ने संस्कार हाम्रो मुलुकमा छैन । तर कमसेकम कसैसित कुनै कुरा सोध्दा, कसैको पसलमा केही खरीद गर्न जाँदा, पसलमा कोही ग्राहक आउँदा कम्तीमा हामी मुस्कुराइदिन त सक्छौँ । वास्तवमा कसैलाई देखेर मुस्कुराउनु भनेको एउटा सुमधुर सम्बन्धको ढोका खुल्नु जत्तिकै हो । मलाई उदेक लाग्छ, हजारौँ खर्च गरेर किनिने सामान किन्न जाँदा गुत्थ फुलेर सोधेको जवाफ पनि ठीकठाकसित नदिने व्यापारीहरु देखेर, जसकहाँ जतिसुकै उत्कृष्ट सामान होस्, आजकाल म झुक्किएर पनि तिनीहरुकहाँ जादिनँ । कसैका अघिल्तिर मुस्कुराउनु यति ठूलो लगानी हो जसले कुनै बैँक, कुनै बित्तीय संस्थानले दिन नसक्ने ब्याज दिन्छ । सबैले यो बुझे देश ठूलै मुनाफामा जानेथियो । जो सयौँको सामान हजारौँमा बेच्न जान्दछ, त्यो असली व्यापारी होइन । असली व्यापारी त्यो हो जो करोडौँको मुस्कान आफ्नो गाह्रको स्वागत गर्न निशुल्क खर्चन्छ । कान्तिपुर साप्ताहिक २०७४-३-१६
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger